खेलकुद

दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १९ लाख २४ हजार जरिवाना

काठमाडौं ।

दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारु (१९ लाख २४ हजार रुपैयाँ) जरिवाना लागेको छ ।

आइतबार राति चेन्नाई सुपर किंग्सविरुद्द खेलको क्रममा स्लो ओभर रेट(निर्धारित समयभन्दा बलिङ ढिलो सकेपछि ) जरिवानामा परेका हुन् ।

जारी आईपीएलमा स्लो ओभर रेटका कारण जरिवानामा पर्ने गुजरात टाइटन्सका शुभमन गिलपछि पन्त दोस्रो कप्तान हुन् ।

गत मंगलबार गिल चेन्नाईविरुद्ध नै कारबाहीमा परेका थिए । पन्तको अर्धशतकको सहयोगमा दिल्लीले चेन्नाई सुपर किंग्सलाई २० रनले हराउँदै पहिलो जित हात पारेको छ ।

विशाखापट्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनायो ।

कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रनको इनिङ खेलेका थिए । २०२२ मा कार दुर्घटनापछि पन्त यसै आईपीएलबाट क्रिकेटमा फर्किएका छन् ।

पन्तको लय भारतीय क्रिकेटका लागि धेरै राम्रो संकेत हो ।