मनाेरञ्जन

साङ्गीतिकसहित गजल मुशायरामा झुम्यो झापा

झापा ।

झापाको बिर्तामोडमा पहिलो पटक गजल मुशायरा कार्यक्रम भएको छ । नेपाल गजल प्रतिष्ठानको मुख्य आयोजना र अन्तर्राष्ट्रिय नेपाली गजल मन्च, प्रान्जल साधना केन्द्र, गोपीकृष्ण स्मृति प्रतिष्ठान र वीरता रिडर्ससमेतको सहकार्यमा सांगीतिकसहित गजल मुशायरा भएको हो ।

माघ २७ गते शनिबार बिर्तामोडस्थित इन्द्रेणी व्यांक्वेटको हलमा भएको गजल मुशायरामा राष्ट्रिय स्तरका डेढ दर्जनभन्दा बढी गजल साधकहरूको विशेष प्रस्तुति रह्यो ।

नेपाल गजल प्रतिष्ठानले यसअघि पनि यस प्रकारका कार्यक्रम गर्दै आएको थियो । प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठकाअनुसार झापामा आयोजना गरिएको गजल मुशायरामा सुदूरपश्चिम, गण्डकी, बाग्मती र कोसी प्रदेशका करिब १ दर्जन जिल्लाका गजल स्रष्टाहरूले तरन्नुम र तहतमा गजल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा लालकाजी श्रेष्ठ, विजय दङ्गाल र आदित्य अधिकारीले डा. भोजराज घिमिरे, डा. प्रदीपकुमार मैनाली, खगिन्द्रा खुसी र रश्मि असफलका गजललाई साङ्गीतिक रूपमा प्रस्तुत गरेका थिए ।

राधा कणेल, घनश्याम पथिक, सुरेश सुवेदी, टीका खड्का ‘राष्ट्रप्रेमी’, आँचलकुमार शर्मा, अनजान यात्री, भुवन निस्तेजलगायतमा गजलवाचनले मुशायरा तातेको थियो ।

वीरता रिडर्सका संयोजक तीर्थ सिग्देलका अनुसार सोही दिन बिहान १० बजेदेखि १ बजेसम्म गजल प्रशिक्षण कार्यशाला पनि सम्पन्न गरियो । सय जनाभन्दा बढी सहभागी प्रशिक्षणका लागि अन्तर्राष्ट्रिय नेपाली गजल मन्चका अध्यक्ष घनेन्द्र ओझाले प्रशिक्षण प्रदान गरेका थिए ।