विशाल बस्नेत
महोत्तरी ।
माओवादी केन्द्रका नेता भरतप्रसाद साहको पछिल्लो समय देखिएको चलाखीका कारण उनी आफैँमात्र कमजोर बनेका छैनन्, पार्टीलाई समेत कमजोर बनाउँदै लगेका छन् ।
साहको सत्तामोहको अन्त्य सुनिता यादव मधेस सरकारमा मन्त्री बन्दा भइसकेको छ । अझ एमाले संसदीय दलका नेता सरोज यादवले रचेको ‘सुरसण्ड काण्ड’मा मतियार बनेको घटनासम्म आइपुग्दा उनी माओवादीलाई अधोगतितर्फ धकेल्न सक्रिय बनेको आरोप बाक्लो हुन थालेको छ ।
अझ रोचक त अहिले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री बनेकी सुनिता यादव र साहबीच भएको भनिएको ‘भद्र सहमति’को चिर्कटो चर्चामा छ । गर्त वर्ष भएको निर्वाचनपछि नै माओवादी संसदीय दलको नेतामा भरतप्रसाद साह र सुनिता मन्त्री हुने भद्र सहमति भएको थियो ।
सहमतिअनुसार नै साह संसदीय दलको नेता त बने, तर चिर्कटोमा भएको सहमति लत्याउँदै उनले मन्त्रीका लागि आफ्नै नाम सिफारिस गरेपछि यादव र साहको विवाद सामाजिक सञ्जालमा छताछुल्ल भयो । सहमतिमा विचलन आउने अवस्था सिर्जना भएपछि यादवले आफ्नो फेसबुकमा लेखेकी थिइन्, ‘तितो सत्य, लाजनीति ।’
तर, पाटी अध्यक्ष प्रचण्ड निकट मानिने यादवले मन्त्री पद पुनः सुरक्षित गरिन् भने साह मन्त्री बन्ने दौडबाट बाहिरिएका छन् । यसअघि एमाले संसदीय दलका नेता सरोज यादवले साहलाई मुख्यमन्त्री बनाउने गरी रचेको रणनीतिमा पनि उनै साह बद्नाम भए ।
मधेसमा सांगठनिक रूपमा धराशायी हुँदै गएको माओवादी केन्द्रको ओरालो यात्राका मुख्य दोषीसमेत साह नै भएको कतिपयको आरोप छ ।
महोत्तरी–१ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका साहको गृहक्षेत्रमा पनि पार्टीलाई कमजोर बनाउने अनेकौँ गतिविधिका लामै शृंखला भएको माओवादी केन्द्रकै कतिपय नेताहरू बताउँछन् ।
अघिल्लो पटक समेत प्रदेशसभामा निर्वाचित भएका साहको यो दोस्रो कार्यकाल हो । अघिल्लो कार्यकालमा माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी हुँदा यसको भरपूर फाइदा उनै साहले उठाएका थिए । साह तत्कालीन सरकारमा लामो समयसम्म गृहमन्त्री बनेका व्यक्ति हुन् ।
गृहमन्त्री बनेको अवधिभर उनले सुराकीको नाममा खर्च गरेको लाखौँ रकम अहिले मधेसमा चर्चाको विषय बनेको छ । उनले उक्त समयमा सेवा–सुविधाबाहेक नै २६ लाख ७० हजार रुपैयाँभन्दा बढी लिएको यतिबेला खुलासा भएको छ ।
साहकै कारण महोत्तरीमा माओवादी कमजोर
पटक–पटक पार्टीकै आडमा जनप्रतिनिधि बनेका साह पार्टी संगठनभन्दा बढी आफ्नै स्वार्थका लागि लिप्त हुन्छन् भन्ने यसअघिको निर्वाचनमा उनी आफैँले प्रमाणित गरेका छन् । उनकै गृह जिल्ला महोत्तरीको क्षेत्र नं. १ मा माओवादी केन्द्रबाट २ जना त बागी उम्मेदवार नै बनेका थिए ।
क्षेत्र १ (क) मा राजन ढुंगाना गठबन्धनको विरुद्ध बागी बनेका थिए भने १ (ख) मा उनकै विरुद्ध विष्णु लामा बागी बने । क्षेत्र ‘क’बाट नेता ढुंगानाले उम्मेदवारी फिर्ता लिए पनि ‘ख‘बाट नेता लामा चुनावी प्रतिस्पर्धामै होमिए ।
बागी उम्मेदवारी फिर्ता लिन सम्झाउँदा उनले नेता ढुंगानाको घरमा पुगेर प्रदेशमा केही हुदँैन, फिर्ता लिनुस्, काम पनि केही गर्न सकिँदैन भन्दै सम्झाएको माओवादीका एक नेता सम्झना गर्दै भन्छन्, ‘उनी आफैँ पाटी कमजोर बनाउने गरी आफ्नो उम्मेदवारीलाई कायम राखे । तर अरूलाई प्रदेश राजनीतिमा ‘केही नहुने’ भनेर सम्झाए । पार्टीलाई न्याय गर्ने हो भने उनले उम्मेदवारी त्यागेर विष्णु लामालाई समर्थन गर्नुपथ्र्यो ।’
यति मात्र होइन, उनले आफू जित्नकै लागि विपक्षी गठबन्धनसँग मिलेर केन्द्रमा गिरिराजमणि पोखरेललाई हराउन लागिपरेको समेत आरोप लाग्दै आएको छ । ‘जित्ने अवस्था नदेखेपछि लक्ष्मी महतो कोइरीसँग मिलेर पोखरेललाई हराउन लागेका धेरै प्रमाणहरू अहिले पनि सुरक्षित छन्,’ नाम नखुलाउने सर्तमा एक नेताले भने ।
संघीय संसद्मा निर्वाचित भएका लक्ष्मी महतो कोइरी ज्यान मुद्दामा फरार रहँदा साहले नै आन्तरिक रूपमा सहयोग गरेको अहिले पनि चर्चा हुने गर्छ । एमाले संसदीय दलका नेता सरोज यादवले गौशालाको एक कार्यक्रममा कोइरीले अदालतबाट सफाइ पाएपछि नेता साहको प्रशंसा गर्दै भनेका थिए, ‘कोइरीलाई ठुलो सहयोग विपक्षी दलको नेता नै भए पनि भरत साहले गर्नुभएको छ, म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’
नगर प्रमुख प्रयोग गरेर युरोपमा रमाइलो
अहिले पनि पार्टीप्रति बेवास्ता र पार्टीलाई ओरालो लगाउन साहले गतिविधि गरिरहेको माओवादीकै नेताहरू बताउँछन् ।
केही समयअघि उनी र आफूलाई माओवादीको सैद्धान्तिक नेता बताउने अनिल बस्नेत युरोप घुम्न गएको चर्चा अझै सेलाएको छैन । यसभित्रको अन्तर्य पनि माओवादी नेता, कार्यकर्ताहरूले खोजेका छन् । शीर्ष नेताहरूको अगाडि, पछाडि पर्दै फोटो खिचेर फेसबुके नेताका रूपमा चिनिएका बस्नेतलाई उपयोग गरेर अहिले साहले केही स्वार्थ पूरा गरिरहेको नेता, कार्यकर्ताहरूको निष्कर्ष छ ।
उनै बस्नेतले बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीलाई प्रयोग गरेर युरोप भ्रमणमा गएको खुलासा भएको छ । नगर प्रमुख क्षेत्रीले नै युरोप पठाएको नेता साहले मधेस प्रदेशको एक बैठकमा समेत खुलासा गरेका छन् ।
‘बैठकमा भ्रमणको विषयमा कुरा उठ्यो । उहाँले पनि स्वीकार गर्नुभयो कि बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले पठाएको भनेर,’ बैठकमा सहभागी एक नेताले भने, ‘थप भित्री अन्तर्यहरू खोतल्छौँ ।’
युरोप भ्रमण सकेर फर्किएका साह र बस्नेत एकैपटक बर्दिवास नगरपालिकाको नगरसभामा देखिएका थिए । नेपाली कांग्रेसबाट बागी वनेर निर्वाचित भएका नगर प्रमुख क्षेत्री आफैँ पछिल्लो समय विभिन्न विकृतिहरूको पक्षपोषण गरेको भन्दै आलोचित भइरहेका छन् ।
नदीजन्य पदार्थ मापदण्ड विपरीत उत्खनन गर्न ठेकेदारहरूलाई प्रोत्साहन गरेको, क्रसरको नदीजन्य पदार्थ व्यापार गर्ने उद्देश्यले बाटो, सडक बनाउन मात्र ध्यान दिएको, जनजीविकासँग जोडिएका विकास निर्माणका काम गर्न नसकेको आरोप उनीमाथि लाग्दै आएको छ । तर, आफूलाई माओवादी केन्द्रको नेता बताउने बस्नेत क्षेत्रीको प्रचारप्रसारमा व्यस्त देखिएका छन् ।
स्वकीय सचिव जसरी नै प्रचारप्रसारमा जुटेका बस्नेतको पछिल्ला गतिविधिले समेत उनी नेता साहबाट नै परिचालित भएको कतिपयको आरोप छ । ‘बजेट ल्याउन सहयोग गर्ने आश्वासनमा नगर प्रमुख क्षेत्रीलाई लुटेका छन् भन्ने सुनेका छौँ,’ माओवादी केन्द्रकै अर्का नेताले भने ।
डिपिआर र बजेटको सुनिश्चितता नभएको फनपार्क उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ल्याइदिने भन्दै साह र बस्नेतले नै नगर प्रमुख क्षेत्रीलाई आश्वासन दिएका थिए । अन्तिम समयमा प्रकाशहरि पोखरेल, राजु खड्कालगायत नेताले डिपिआर तथा बजेट नै नभएको ठाउँमा प्रचण्ड आउँदा गलत सन्देश प्रवाह हुने भन्दै रोकेका थिए ।
यही विषयलाई लिएर नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले विभिन्न सार्वजनिक कार्यक्रममा विकासमा ग्रहण लगाउन खोजेको प्रतिक्रिया दिने गरेका थिए ।
गुट सिर्जनामा प्रतिस्पर्धा
यस्ता विभिन्न कारणले भरत साह पार्टीलाई कमजोर बनाउने कारक मात्र बनेका छैनन्, गुट सिर्जनामा पनि उत्तिकै सक्रिय देखिएका छन् । हुन त मधेसमा माओवादी केन्द्रका थुप्रै गुट देखिन्छन् भने गुट चलाउन नसक्नेहरू पार्टी छाडेर अन्य पार्टीमा समेत प्रवेश गरेका छन् ।
यसैको निरन्तरता रामकुमार शर्माको बहिगर्मनलाई उदाहरणका रूपमा लिन सकिन्छ । ‘ताक परे तिवारी नत्र गोतामे’ भन्ने उखानलाई नेता साहले अवलम्बन गरिरहेको नेताहरूको आरोप छ ।
मधेस प्रदेशमा मन्त्री यादवलाई हटाउन नसकेपछि माओवादी केन्द्रलाई अर्को मन्त्री पनि चाहिने भन्दै मुख्यमन्त्री सरोज यादवलाई साहले केही समय धम्क्याएका थिए । संसदीय दलको नेताको हैसियतले मन्त्री, राज्यमन्त्रीबाट आफ्ना नेताहरूलाई उनले सरकारबाट फिर्तासमेत बोलाए ।
तर, चरम आन्तरिक कलहमा रुमलिएको माओवादी केन्द्रका मन्त्रीहरूले गुट, उपगुटको सपोर्टकै कारण संसदीय दलका नेता साहले भनेको कुरा टेरेनन् । यसले पनि अर्को मन्त्रालय मागेर आफैँ मन्त्री बन्ने उनको सपनामा पूर्णविराम लागेको थियो ।
यही छटपटाहटको कुण्ठा उनले अहिले पार्टी पंक्तिमाथि पोखिरहेका छन् । परिणाम स्वरूप मधेसमा माओवादी केन्द्र थप कमजोर अवस्थामा पुगेको छ । पार्टी संगठनलाई ध्यान नदिने तर पद र शक्तिका लागि रुवाबासी गर्ने माओवादी केन्द्रका नेताहरूको चरित्रले २०८४ को चुनावसम्म पार्टीको अस्तित्व नै के हुने हाो भन्ने शंका गर्न थालिएको छ ।
साम्प्रदायिक राजनीतिमा उन्मुख
अहिले नेता साहलाई साम्प्रदायिक राजनीति गरेको आरोपसमेत लाग्न सुरु भएको छ । पार्टी केन्द्रले मधेस प्रदेश इन्चार्जको जिम्मेवारी दिएर पठाएका लिलामणि पोखरेललाई लिएर ‘पहाडिया’को संज्ञा दिँदै पार्टी अध्यक्ष प्रचण्डसँग उनी डेलिगेसन नै गएका थिए ।
यही विषय पनि पार्टी केन्द्रीय समितिमा जोडदार रूपमा उठेको छ । यसअघि बिहारको सुरसण्डमा लगेर पार्टीको बैठक राखेको विषयमा समेत जोडिएका साह पोखरेललाई लिएर गरेको टिप्पणीले समेत थप आलोचित भएका छन् ।
‘पार्टीलाई नै घात गर्ने गरी उनले गरेका कामहरू अक्षम्य छन् । तर, केन्द्रले उनलाई कस्तो एक्सन लिने हो भन्ने मुख्य प्रश्न हो,’ पोलिटब्युरो सदस्य रहेका एक नेताले भने, ‘उहाँको विषयमा यस्ता धेरै कुरा उठिरहेका छन् ।’
प्रतिक्रिया