Breaking

लुम्बिनी कोषको गाडी दुरु*पयोग, स्थानीयले बुझाए प्रहरीमा

लुम्बिनी ।
लुम्बिनी विकास कोषको गाडी दुरुपयोग भएको भन्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

शुक्रबार बेलुका ५ बजेर ३५ मिनेट जाँदा लु१झ ६९६ नम्बरको लुम्बिनी विकास कोषको गाडी पर्सा चोकबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लुम्बिनीलाई बुझाइएको लुम्बिनी बचाऊ संघर्ष समितिका संयोजक रामविकास चौधरीले बताएका छन् ।

संयोजक चौधरीका अनुसार कोषको गाडी व्यापक दुरुपयोग भइरहेको स्थानीयको गुनासोपछि विभिन्न मागसहित आन्दोलनमा रहेको लुम्बिनी बचाऊ महाअभियानका पदाधिकारी तथा सदस्यहरूले सो गाडी नियन्त्रणमा लिँदा गाडीमा सवार २ जना र आन्दोलनकारीबीच सामान्य झडपसमेत भएको थियाे ।

कार्यालय समय सकिएको आधा घन्टापछि पनि सेतो नम्बर प्लेटको इलेक्ट्रिक गाडी गुडेको देखेपछि रोकेर साेधपुछ गर्ने क्रममा गाडीभित्रका १ जनाले आफू डिएसपी भएको रवाफ देखाउँदै गाडी दौडाउन लाग्दा लुम्बिनी बचाऊ महाअभियानका वरिष्ठ सदस्य मेघनाथ आचार्यको खुट्टामा किचेकाे थियाे ।

‘सो गाडीमा चालकसहित २ जना सवार थिए । दुवै जना न कोषका कर्मचारी हुन्, न त पदाधिकारी,’ लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकरामुद्दिन खानले भने । असम्बन्धित व्यक्तिलाइ सरकारी गाडी दिएर दुरुपयोग गर्ने–गराउने कोषका कर्मचारी र पदाधिकारी समेतलाई कारबाही हुनुपर्ने उनले माग गरे ।

गाडी प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक कञ्चन तामाङले बताएका छन् । यस सम्बन्धमा लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामा र सदस्य सचिव सानुराजा शाक्यसित सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । कोषाध्यक्ष सिद्धिचरण भट्टराईले यसबारे बुझिरहेको बताए ।