अर्थ

अवरुद्ध भएको इन्टरनेट सेवा सञ्चालनमा

काठमाण्डौ – हिजो दिउँसो ४ बजेदेखि समस्या देखिएको इन्टरनेट सेवा रातिदेखि सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले आपूर्ति नियमित गरेसँगै अवरुद्ध भएको झन्डै सात घण्टापछि नेपालमा इन्टरनेट चल्न थालेको हो ।

इन्टरनेट अवरुद्ध भएलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा अवरुद्ध हुने गरी कुनै कार्य नगर्नरनगराउन सेवा प्रदायक निकायहरूलाई आग्रह गरेको थियो । त्यसलगत्तै इन्टरनेट सेवा सञ्चालनमा आएको हो ।

भारतीय कम्पनी एअरटेलले भुक्तानीका लागि पटक पटक ताकेता गर्दा पनि नेपाली कम्पनीहरूले शुल्क बुझाउन नसकेपछि हिजो केहीबेर इन्टरनेट काटिएको वर्ल्डलिङ्कले जनाएको छ ।

नेपालका कम्पनीहरूले एअरटेललाई तीन अर्ब रुपैयाँ तिर्न बाँकी छ तर विभिन्न बक्यौता नतिरेको भन्दै सरकारले विदेशी मुद्राको सिफारिस गरिदिन अस्वीकार गर्दै आएको छ । सरकारले बाँकी रहेको झन्डै साढे दुई अर्ब रुपैयाँ बक्यौता तिरेमात्रै विदेशी मुद्राको सिफारिस गरिदिने अडान लिएको छ । तर इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आईस्पानले भने सरकारले गैरकानुनी रूपले बक्यौता रकम तोकेको भन्दै आफूहरूले बक्यौता तिर्न नै बाँकी नभएको दाबी गर्छन् ।

सरकार र निजी कम्पनीको विवादका कारण भारतमा भुक्तानी हुन नसक्दा वर्ल्डलिङ्क, भायानेट, सुबिसु लगायतका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूको नेटवर्कमा समस्या देखिएको हो । नेपालका इन्टरनेट सेवा प्रदायकहरूले एअरटेल, टाटा लगायतका भारतीय कम्पनीहरूलाई एक वर्षदेखि अन्तर्राष्ट्रिय ब्यान्डविथको भुक्तानी गर्न सकेका छैनन् ।

नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता भएका एक सय २२ वटा इन्टरनेट सेवा प्रदायक र २३ वटा नेटवर्क सेवा प्रदायकमध्ये केही इन्टरनेट सेवा प्रदायकबाहेक अन्य दूरसञ्चार सेवा प्रदायकले नियमअनुसार बुझाउनुपर्ने शुल्क बुझाएको र शुल्क बुझाउने सेवा प्रदायकको विदेशी मुद्रा सटही सिफारिस नेपाल दूरसञ्चार प्राधिकरणको सिफारिसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने कानुनी व्यवस्थाबमोजिम नियमित रूपमा सिफारिस भइरहेको छ ।