काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेस धादिङले जिल्लाका विभिन्न पालिकाहरुमा कार्यरत करार कर्मचारीहरू, विद्यालयका करार शिक्षकहरूलाई विभिन्न बहाना बनाई सेवाबाट हटाइएको भन्दै पुनरबहालीको माग गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै ट्रेड युनियन कांग्रेस धादिङले जिल्लाका स्वास्थ्य संस्थाहरूमा कार्यरत करारका कर्मचारी समेतलाई स्थानीय पालिकाले आफूखुसी विभिन्न बहाना बनाई बर्खास्त गरेको भन्दै भर्त्सना गरेको छ ।
ट्रेड युनियन कांग्रेस धादिङका अध्यक्ष ध्रुव रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा विगत १८–२० वर्षदेखि निरन्तर सेवा गर्दै आएका श्रमिकहरूलाई काम गर्दा गर्दै विना कारण, विना जानकारी एक्कासि विभिन्न बहानामा प्रतिशोधपूर्ण र दुराशयपूर्ण भई वर्तमान शिक्षा ऐनको बहानामा सेवाबाट बर्खास्त गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।
यस्तै स्थानीय तहले आफू निकट व्यक्तिहरूलाई दक्षता र योग्यता समेत नहेरी रोजगारी दिलाउने गरेको र फरक विचार राख्नेहरूलाई बदनियतपूर्ण निर्णयका आधारमा संविधान, ऐन नियम, श्रम ऐन र आईएलओ अभिसम्धी विपरीत हटाइएको भन्दै अविलम्ब हटाउने निर्णय फिर्ता लिई पुनरबहालीका लागि जोडदार माग गरिएको छ । माग पूरा नगर कडा कदम चाल्ने विज्ञप्तिमा जनाइएको छ ।
17 May 2024 21:12 PM | UPDATED 6 months ago
प्रतिक्रिया