Breaking

राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट गीता अधिकारी सम्मानित

हेटौँडा, जेठ ११ गते । चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुरले राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा बिहीबार हेटौँडामा चलचित्र पत्रकार एवम् गीतकार गीता अधिकारीलाई नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८१ु प्रदान गरेको छ । अधिकारीलाई ११ हजार १११ रुपियाँ नगदसहित पुरस्कृत गरिएको हो ।

अधिकारी दुई दशकभन्दा बढी चलचित्र पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ भने मिलाप राष्ट्रिय मासिक पत्रिकामा आबद्ध रहनुभएको छ । नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारलाई नेपाल चलचित्र सङ्घका अध्यक्ष एवम् निर्माता नरेन्द्र महर्जनले स्थापना गर्नुभएको हो ।
दिवसको अवसरमा सङ्घले चलचित्र पत्रकारिता पुरस्कार २०८१ बाट कान्तिपुर टेलिभिजन मकवानपुरका संवाददाता बालकृष्ण अधिकारी,चलचित्र कलाकर्मी सम्मान २०८१ बाट कलाकार कोसिस क्षेत्रीलाई सम्मान गरिएको छ । त्यस्तै कलाकार सुशान्तकुमार श्रेष्ठको बुबाको नामबाट स्थापित धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान २०८१ बाट कलाकार ध्रुव न्यौपानेलाई सम्मान गरिएको छ । सोही अवसरमा चलचित्र पत्रकार सङ्घ नेपालको हेटौँडामा सम्पन्न प्रथम राष्ट्रिय भेला तथा पत्रकारिता कार्यशाला कार्यक्रमलाई साथ सहयोग गरेका मकवानपुरका पत्रकार श्यामलाल दुलाल गणेशलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

सम्मान तथा पुरस्कार हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ,चलचित्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामी,नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जन, जिल्ला अध्यक्ष कपिल खड्का लगायतकाले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो ।