कभर स्टोरी

पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान आजदेखि शुरु

सरकारले आजदेखि पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्दैछ । आजदेखि जेठ २६ गतेसम्म दुई हप्ता चल्ने अभियानको सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

आईपीभी खोप नेपालमा २०७१ असोज महिनादेखि शुरु भएको थियो । तर २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका यो खोप लगाउन छुटेका थिए । अभियानमार्फत छुटेका ती बालबालिकालाई आईपीभी खोप दिन लागिएको हो । अहिले देशभरका १४ लाख ६२ हजारभन्दा धेरै बालबालिकालाई खोप दिने सरकारको लक्ष्य छ ।

सरकारले दिने अनि निःशुल्क पाइने आईपीभी खोपबाट सामान्य दुखाइ, सुई लगाएको ठाउँमा सुन्निने वा हल्का ज्वरो आउनेबाहेक बालबालिकामा अरू कुनै असर नगर्ने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतम बताउनुहुन्छ । यो खोप सुरक्षित भएकाले ढुक्क भएर आफ्ना बालबालिकालाई लगाउन उहाँको सल्लाह छ ।