कभर स्टोरी

झोलुंगे पुलमा फसेका खच्चडको ५ घन्टा पछि उद्धार, २ को मृत्यु

कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये ११ वटा खच्चडको पाँच घन्टापछि जीवितै उद्धार गरिएको छ। आठ वटालाई पुलको जाली काटेर नदीमा खसालेर उद्धार गरिएको हो। नदीमा खसालेर डुंगामार्फत् खच्चडलाई तारेर नदी किनार लगिएको थियो। पुलको छेउ भागमा फसेका तीन वटालाई डोरीले बाँधेर उद्धार गरिएको थियो।
नदी माथि परेकालाई जाली काटेर तल झारिएको थियो भने डुंगाको सहायताले किनारमा पुर्‍याइएको थियो।

पुलको छेउमा रहेका तीन वटालाई त्यही विधिबाट उद्धार गर्दा बगरमा पर्ने भएपछि डोरीले बाँधेर बाहिर निकालिएको हो।
पुलमा फसेकामध्ये दुई वटा खच्चडको जीवितै उद्धार गर्न सकिएन। आठबीस नगरपालिका ६ नम्बर वडाका अध्यक्ष नवराज शर्माका अनुसार एउटा खच्चड पुलमै मरिसकेको थियो। अर्को खच्चडको जाली काटेर नदीमा खसालेपछि मृत्यु भएको हो।