कभर स्टोरी

आजदेखि देशका धेरै ठाउँको मौसम क्रमिक रूपमा सुधार हुँदै, केही ठाउँमा अझै बाढीको जोखिम

आजदेखि देशका धेरै ठाउँमा मौसम क्रमिक रूपमा सुधार हुने भएको छ । मनसुनी न्यून चापीय रेखा दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि देशैभरि ठूलो वर्षा भइरहेकाेमा आजदेखि वर्षा हुने क्रममा केही कमी आउने सम्भावना रहेको छ । यद्यपि कोशी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा र थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना यथावत् छ । मधेश, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना नरहे पनि अबको २/३ दिन हल्कादेखि मध्यम वर्षा हुने र रोकिने क्रम दिनैभरि चलिरहने मौसमविद् गोविन्द झाले बताउनुभयो । वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम रहेकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।