चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको शुक्रवार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ शव फेला परेका छन् ।
सशस्त्र प्रहरी बल नेपालकाअनुसार विभिन्न ठाउँमा भेटिएका १७ मध्ये नौ वटा शवको पहिचान खुलेको छ । बाँकी आठ वटाको पहिचान खुल्न बाँकी छ । सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता शैलेन्द्र थापाकाअनुसार बाँकी यात्रु र बसको खोजी निरन्तर छ ।
भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमितकुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदीप बिक, रौतहटका फिरोज राहुपमिया, बराका परमानन्द पण्डित र चन्द्रनिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ । अन्य छ वटा पुरुष र दुई महिलाको शव रहेको छ ।
शव खोजीका लागि नवलपुरतर्फ कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटदेखि त्रिवेणीसम्म नै सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया