काठमाण्डौ महानगरपालिकाले डेङ्गीको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै महानगरले यो रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नगरवासीलाई आग्रह गरेको हो ।
परामर्श सेवाका लागि निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ चौबीसै घण्टा सञ्चालनमा ल्याएको महानगरको डेङ्गीसम्बन्धी स्रोतव्यक्ति (फोकलपर्सन) ऋषि भुसालले जानकारी दिनुभयो । उहाँले अकस्मात् अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नगरवासीलाई आग्रह गर्नुभयो ।
काठमाण्डौ महानगरपालिकाले डेङ्गी सङ्क्रमण फैलिन नदिन हरेक बुधवार र बिहीवार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाएको भुसालले जानकारी दिनुभयो ।डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्छ ।
प्रतिक्रिया