समाचार

सिमलताल बस दुर्घटनामा फेला परेका १९ शवमध्ये १४ जनाको सनाखत ,पाँच जनाको सनाखत हुन बाँकी

नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गएको शुक्रवार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीकाअनुसार तीमध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँच जनाको सनाखत हुन बाँकी छ ।

हिजो भेटिएकामध्ये भारतका ऋषिपल साह, चितवन माडिका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप बिक, बाराका परमानन्द पण्डित र चन्द्रनिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ ।

यसैगरी रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ ।  अरु पाँच जना पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।