काठमाडौँ ६ साउन । काठमाडौँको सानोभर्याङ्स्थित स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड विद्यालयले यही साउन ५ र ६ गतेदेखि आयोजना गरेको यू-१० ब्वाइज अन्तर विद्यालय फुटसल प्रतियोगिताका विजयी खेलाडी विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड विद्यालयको आयोजनामा शुरु भएको प्रतियोगितामा आइतबार भएको फाइनल खेलमा ब्रह्मकुञ्जलाई हराउदै चेल्सी वर्ल्ड विद्यालयले उपाधि हात पारेको हो । ब्रह्मकुञ्ज विद्यालय चेल्सी वर्ल्ड विद्यालयसँग ०-१ गोलको अन्तरले स्तब्ध हुँदै दोश्रो स्थान हासिल गरेको छ साथै रातो बङ्गला ‘हरियो’ टिमले रातो बङ्गला ‘रातो’ लाई ०-३ अन्तरले हराउदै तृतीय स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष श्री शिव कोइराला ‘ज्वाला’ ले खेल जीवनका लागि अत्यन्तै आवश्यक रहेको कुरा बताउनुभयो । उहाँले विद्यार्थीलाई शिक्षा र खेल दुबैलाई महत्व दिन आग्रह गर्नुभयो । कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल राष्ट्रिय खेलकुद परिषद्का कार्यवाहक सदस्य सचिव श्री अन्जन धमला र अन्तर्राष्ट्रिय गोलकिपर साथै नेपाल महिला राष्ट्रिय टोलीको कप्तान सुश्री अन्जिला तुम्बापो साथै अतिथिका रुपमा नेपाल वडी बिल्डिङ् सङ्घका उपाध्यक्ष श्री सुजन लामाको समेत गरिमामय उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक नेहा के.सीले सहभागी खेलाडीहरुलाई बधाई दिंदै खेल जीवनको महत्वपूर्ण अङ्ग रहेको कुरा व्यक्त गर्नुभएको थियो । विद्यालयकी प्रबन्ध निर्देशक मिना महर्जन र प्रधानाध्यापक नेहा के.सीले प्रमुख अतिथिका साथै विशेष अतिथिलाई मायाको चिनो हस्तान्तरण गर्नुभयो । उक्त प्रतियोगितामा विभिन्न विद्यालयका १२ टिमको सहभागिता रहेको कुरा विद्यालयका खेलकुद संयोजक राकेश कुमार राईले बताउनुभयो ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि रातो बंगालका श्रीभाष खरेल , सर्वोत्कृष्ट गोलकिप्पर ब्रह्मकुञ्जका आयुष फुँयाल, सर्वोत्कृष्ट गोलकर्ता चेल्सी वर्ल्ड विद्यालयका रायन श्रेष्ठ साथै फेयर प्लेटिममा युरो बिद्यालयका खेलाडीहरु पुरस्कृत भएको कुरा बिद्यालय फुटबल कोच ज्वाला विष्टले जानकारी दिनुभयो ।
21 July 2024 22:17 PM | UPDATED 4 months ago
प्रतिक्रिया