काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको उक्त विश्वविद्यालयको आठौँ साधारणसभा बैठकमा प्रधानमन्त्री एवं कुलपति ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधानका लागि संयुक्तरुपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास र पृष्ठभूमिसँग जोडिएको जनकपुरमा रहेको सो विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र यहाँका वैभवका विषयमा ध्यान दिन आग्रह गर्नुभयो । “नेपालको आफ्नै पौराणिकता छ । यसको आफ्नै गौरव छ । विश्वका कतिपय मुलुकहरु अस्तित्वमै नआएका बेला हाम्रो पुर्खाहरु ज्ञान–विज्ञानको शास्त्रार्थ गर्दै थिए । हाम्रा असङ्गठित विश्वविद्यालयका रुपमा शिवलाई मानिन्छ । त्यस अर्थमा यस भूूभागले विश्वलाई प्रेरणा दिएको छ ।’’
बैठकमा विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, सहकुलपति एवं मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौडेल अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।
12 September 2024 22:11 PM | UPDATED 2 months ago
प्रतिक्रिया