विश्व

वर्षा प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा खटिन मन्त्री भण्डारीको आग्रह

काठ्माण्डौँ २८ भदौ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशमा निरन्तरको बर्षाका कारण उत्पन्न परिस्थितीको सामना गरि राहत तथा उद्धारमा खटिन सम्बन्धीत निकायलाई आग्रह गर्नुभएको छ । आज एक प्रेस विज्ञप्ती जारि गर्दै उहाँले प्रभावित क्षेत्रका व्याक्तिहरुलाई संयमित भई सुरक्षित रहन र राहत तथा उद्धारमा तदारुकता देखाउन सम्बन्धीत सरकारी निकाय र संघ संस्थाहरुलाई आग्रह गर्नुभएको छ ।
प्रेस विज्ञप्तीमा भनिएको छ, “सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश भैरहेको विपदमा क्षतिमा निरन्तर वर्षा भैरहेको छ । मौसमविद् हरुका अनुसार अझै १ दिन निरन्तर वर्षाको सम्भावना रहेकाले प्राकृतिक विपदको समयमा सबैलाई संयमित भई सुरक्षित रहन आग्रह गर्दछु ।

सुदूपश्चिम प्रदेश अन्तर्गत डडेल्धुरा जिल्ला परशुराम नगरपालिका वडा न। ८ की १४ बर्षीय प्रतिमा धामी र डोटी जिल्ला केआइसिंह गाउँपालिका वडा न। ४ की ८ बर्षीया निर्मला चन्द बेपत्ता हुनुका साथै ३ जना घाइते र केही पशुचौपायासमेत मरेको घटनाले दुखित तुल्याएको छ । कर्णाली नदीमा पानीको बहाव बढेकाले कैलाली जिल्लाका १४६ परिवारका ५४७ जना विस्थापित भएका छन् भने कञ्चनपूरको दोधारा चादँनी, पुनर्वास र भिमदत्त नगरपालिकाका ८३ परिवारका २४६ जना विस्थापित भएका छन् र बैतडीको दशरथचन्द नगरपालिका वडा न।११ बगलेखानमा ४ घर जोखिममा परेका छन् । भिमदत्त पन्त राजमार्ग, जयपृथ्वीबहादुर सिंह राजमार्ग र केआइसिंह राजमार्गका ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भई आवतजावत प्रभावित बनेको छ । निरन्तरको वर्षाले अन्य क्षेत्रमा पनि यसप्रकारका घटना हुने सम्भावना देखिन्छ ।

प्राकृतिक प्रकोपका कारण वेपत्ता भएकाहरुको तदारुकताका साथ खोजीमा लाग्न र विपद्का कारण भएको क्षतिको यकिन विवरण संकलन गरी उद्धार तथा राहतलाई निरन्तरता दिन तथा त्यस्ता घटना सम्भावित क्षेत्रको लागि तयारीमा रहन नेपाल सरकारका सम्बन्धित निकाय एंव यस क्षेत्रमा कार्यरत सबै संघ संस्थाहरुलाई आग्रह गर्दछु ।”