Breaking

दश वर्षपछि महजोडीको ‘महजात्रा’ प्रहसन हुँदै

काठमाडौँ। महजोडी हरिवंश आचार्य र मदनकृष्ण आचार्यको दश वर्षपछि ‘महजात्रा’ प्रहसन हुने भएको छ । कात्तिक २९ गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ। बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मह संचार र सुश्री मिडियाको सहकार्यमा (महजात्रा) प्रहसन मिरा फाउण्डेसन र मानव सेवा आश्रमको सहयोगार्थका लागि हुने जानकारी गराइएको हो। ‘महजात्रा’ प्रहसनको टिकट खल्ती एपबाट गर्न सकिने छ।

प्रहसनमा वरिष्ठ हास्य व्यंग्य कलाकारहरू किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंशाकार, शैलेन्द्र सिम्खडा यमन श्रेष्ठ, दिनेश काफ्ले र विभुषण बस्नेत लगायतका कलाकारको प्रस्तुती रहनेछ। आयोजकका अनुसार प्रहसनको मुख्य उद्देश्य समाजमा रहेका समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु हो । नेपाली समाजमा परम्परा, राजनीति, सामाजिक संरचना तथा सांस्कृतिक कुरीतिहरूलाई व्यंग्यको माध्यमबाट प्रस्तुत गर्ने हो । यसलाई महजोडीले अद्धितीय शैलीमा प्रस्तुत गर्ने छन्।

दश वर्षपछि हुने प्रहसनमा महजोडीले आफ्नो पुरानो शैलीको हास्य व्यंग्यलाई जीवन्त बनाउने र नेपाली दर्शकलाई हँसाएर विषयवस्तुमा सोच्न बनाउन सक्ने छन्। आयोजकले यस प्रहसनमा हास्य र सन्देश मिश्रण हुने जनाइएको छ। दर्शकलाई हँसाउने मात्र नभइ समाजप्रतिको धारणा बदल्न पनि प्रयास गर्ने छ। यो प्रहसनले विभिन्न समयमा नेपाली समाजमा घटेका राजनीतिक, सामाजिक र सांस्कृतिक घट्नाहरूको आलोचनात्मक दृष्टिकोण राख्नेछ। जसले गर्दा दर्शकलाई हाँस्दै सोच्न बाध्य बनाउने विश्वास गरिएको पत्रकार सम्मेलनमा बताइएको छ।