विश्व

नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल

काठमाडौं, कार्तिक १५ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिएर आज स्वदेश फर्किनु भएको छ ।
अर्थमन्त्री पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजस्व सचिव दिनेशकुमार घिमिेरेले स्वागत गर्नु भएको थियो । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा अर्थमन्त्री पौडेलले जलवायु वित्तका क्षेत्रमा सहायता परिचालन गर्न स्थापित विश्वव्यापी वित्तीय कोषहरुको परिचालन प्रणालीलाई सरल र पहुँचयोग्य बनाउन विश्व समुदायसँग आग्रह गर्नुभएको थियो । त्यसैगरी जलवायु न्यायका लागि विकास साझेदार र सिंगो अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्नुका साथै जलवायु न्यायका लागि स्थापित हानी नोक्सानी तथा क्षतिपूर्ति कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्न अनुरोध गर्नु भएको थियो । अर्थमन्त्री पौडेलले नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको बताउनुभयो ।

अमेरिकामा रहेका बेला अर्थमन्त्रीले विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगमका उच्च पदस्थ पदाधिकारीहरुसँग अलग-अलग भेटवार्ता गर्नु भएको थियो । त्यसैगरी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्नु भएको थियो । अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री पौडेलले नेपाली दुतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुका साथै अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधि, नेपाली समुदाय लगायतसँग भेटघाट गर्नु भएको थियो । अर्थमन्त्री पौडेल कार्तिक ५ गते अमेरिका जानु भएको थियो ।