Breaking

काठमाडौँमा दुई दिने युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ हुने, उत्कृष्टले सिंगापुर सम्मेलनमा सहभागिताको अवसर पाउने

काठमाडौँ । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालयको संयुक्त आयोजनामा आगामी डिसेम्बर २७ र २८ मा युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को नवौं संस्करण काठमाडौँमा हुने भएको छ। कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित यो सम्मेलन युनिग्लोब माध्यमिक विद्यालय, कमलादीमा आयोजना हुनेछ। देशभरका युवा बैज्ञानिक र अनुसन्धानकर्ताहरूले पाँच फरक विधामा आफ्ना अनुसन्धान परियोजनाहरू प्रस्तुत गर्नेछन्। यी विधाहरूमा जीव विज्ञान, रसायन र वातावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ्ग र रोबोटिक्स, कम्प्युटर विज्ञान र कृत्रिम बौद्धिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधि समेटिएका छन्। परियोजनाको छनोटमा नवीन प्रविधि र प्रयोगलाई प्राथमिकता दिइने आयोजकले जनाएका छन्।

प्रत्येक विधामा उत्कृष्ट परियोजनालाई “युवा बैज्ञानिक” उपाधि प्रदान गरिनेछ। साथै, सम्मानित हुने युवा वैज्ञानिकहरूलाई सिंगापुरमा हुने १४औं एशिया प्यासिफि सम्मेलनमा सहभागिता जनाउनका लागि आवेदन दिन योग्य मानिनेछ। छानिएका युवा बैज्ञानिकहरूले नेपाल पोलिमर इन्स्टिच्युटको राष्ट्रिय अनुसन्धान समितिको मार्गदर्शनमा आफ्नो अनुसन्धान क्षमता विस्तार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान र नेटवर्किङको अवसर प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ ।