Breaking

महालक्ष्मी बिकास बैंकको १६ करोड अपचलनः इन्टरनेशन क्लवमार्फत कालोसूचीमा परेको कम्पनीको ऋण तिरियो

काठमाडौं -महालक्ष्मी विकास बैंकले नियम विपरीत एक कम्पनीलाई करोडौं ऋण प्रवाह खुलेको छ । बैंकले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा ललितपुरको सानेपास्थित इन्टरनेशनल क्लबको नाममा रहेको विवादास्पद तीन रोपनी साता आना एक पैसा जग्गा धितो राखी १६ करोड ऋण दिएको हो । जुन ऋण अहिले जोखिममा परेको हो । उक्त जग्गा एनबी समूहका पूर्व अध्यक्ष तथा काठमाडौं रिक्रिएसन सेन्टरका सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठबाट कुमारी विल्डर्स एण्ड डेभलभमेन्ट प्रालि हुँदै इन्टरनेशन क्लव प्रालिको नाममा आएको खुलेको छ ।नविल बैंकसहित केही बैंकहरुबाट कर्जा लिई दुरुपयोग गरेर ऋण समेत भुक्तानी नगरेको हुँदा कुमारी विल्डर्स कालोसूचीमा छ । उक्त जग्गा सुरुदेखि नै बैंक ठगी गर्ने उद्देश्यले खरिद गरिएको र त्यसका लागि काठमाडौं रिक्रिएसन सेन्टरका सञ्चालक लक्ष्मीबहादुर श्रेष्ठले १ करोड ५ लाख ९० हजारमा रविन्द्र बहादुर सिंह सञ्चालक रहेको कुमारी विल्डर्सलाई बिक्री गरेका थिए ।

ठगी गर्न योजनावद्ध रुपमा तत्कालिन एनसीसी बैंकबाट शुरुमै रविन्द्र बहादुर सिंहको नामबाट ऋण लिइएको थियो । उनले ऋण तिरेको प्रमाण अहिलेसम्म भेटिएको छैन ।
त्यसपछि रामेश्वरप्रसाद श्रेष्ठका छोरा नविन श्रेष्ठको नाममा बैंकका कर्मचारीहरूको मिलेमतोमा कम्पनीले ऋण दिएको आठ महिनापछि कम्पनीको शत प्रतिशत सेयर नविन श्रेष्ठको नाममा सारिएको थियो । बैंकले ऋण प्रवाह गर्दा कम्पनीका सञ्चालक थिए, रविन्द्रबहादुर सिंह । त्यसपछि कम्पनीको शत प्रतिशत सेयर नविन श्रेष्ठको नाममा नामसारी गरिएपनि सरोकार नभएका व्यक्ति रामेश्वरप्रसाद श्रेष्ठसँग २०७१ वैशाख २१ मा तत्कालीन एनसीसी बैंकले ऋण भुक्तानी सम्बन्धी सम्झौता गरेको थियो ।
यसैमा बैंकका उच्च पदस्थ कर्मचारीहरुको मिलेमतो रहेको खुलेको थियो । हाल एनसीसी बैंक कुमारी बैंकसँग मर्ज भइसकेपछि उक्त झन्झट कुमारी बैंकलाई आइ लाग्यो ।
कुमारी बैंकले आफ्नो नाममा आइसकेको जग्गा पुनः विवादास्पद कुमारी विल्डर्स एण्ड डेभलभमेन्ट प्रालिलाई सकार्न लगायो । उक्त जग्गाको मुद्दा ललितपुर जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्चमा विचाराधिन अवस्थामा छ ।

सर्वोच्चमा विचाराधिन रहेकै बेला उक्त तीन रोपनी सात आना एक पैसा जग्गा २०८० फागुन २ गते २२ लाख ६५ हजार ६०० रुपैयाँ प्रति आनाका दरले १२ करोड ५१ लाख ७५ हजार मुल्य कायम गरी कुमारी विल्डर्सको नाममा नामसारी गरिएको थियो ।त्यसपछि एक महिना नवित्दै पुनः २०८० चैत १६ गते उक्त जग्गामध्येको २ रोपनी १३ आना १ पैसा जग्गा प्रति आना ५० लाख ७७ हजारका दरले २२ करोड ७५ लाख कायम गरी इन्टरनेशनल क्लव प्रालिको नाममा नामसारी गरिएको समेत खुलेको छ ।

उक्त जग्गा खरिद गर्नका लागि भनि महालक्ष्मी विकास बैंकबाट इन्टरनेशनल क्लवका सञ्चालक एलसन श्रेष्ठको नाममा १६ करोड कर्जा स्वीकृत गराई विभिन्न व्यक्तिहरुको नाममा रकमान्तर गरी कर्जा दुरुपयोग गरिएको समेत खुलेको छ ।अदालतबाट मुद्दाको किनारा नलाग्दै कुमारी बैंकले कुमारी विल्डर्सका नाममा जग्गा सकार्न लगाई पुनः महालक्ष्मी बैंकबाट १६ करोड ऋण दिएका कारण बैंक ठगी गर्ने उद्देश्यले जग्गाको खरिद बिक्री भएको पुष्टि हुन्छ ।उक्त खरिद बिक्रीको कारोबार बैंकबाट भएको छैन । मालपोतसँगको मिलेमतोमा मात्र कागजी प्रक्रिया मिलाइएको छ ।