राजनीति

अधिकार कार्यान्वयनका लागि खुट्टा कमजोर नपार्न प्रदेश तहलाई मन्त्री दाहालको आग्रह

काठमाडौ। पुष, ८ भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रदेश सरकारहरुलाई आफ्नो अधिकार कार्यान्वयनका लागि खुट्टा कमजोर नपार्न आग्रह गर्नु भएको छ । यातायात व्यवस्था विभागले सोमबार काठमाडौमा आयोजना गरेको यातायात क्षेत्रमा देखा परेका समस्या समाधा एवम् विगतमा भएको निर्णयहरुको कार्यान्वयन विषयक कार्यक्रममा उहाँले सो बताउनु भएको हो । यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको भएकाले संविधानलेनै दिएको यस सम्वन्धि अधिकार कार्यान्वयनका लागि प्रदेश सरकारहरुले आँट गर्नु पर्ने उहाँको भनाई थियो । सवारी चालक अनुमति पत्र छपाई, नविकरण एवम वितरण जस्ता कार्यहरु अब प्रदेश स्तरबाटै हुनु पर्ने उहाँले बताउनुभयो । ‘सवारी चालक अनुमति पत्र छपाईलाई धेरै झण्झटिलो र जटिल नठानौं, यो काम अब सवै प्रदेशबाटै हुनुपर्छ’ मन्त्री दाहालले भन्नुभयो, ‘अब एउटा ‘कटअप डेट’ तोकेर त्यस पछिको काम प्रदेशबाटै हुने गरि सवै प्रदेशले तयारी थाल्नुहोला ।’

मन्त्रालयका सचिव केशवकुमार शर्माले सवारी चालक अनुमति छपाईमा रहेका जटिलताहरुको अन्त्य गरि प्रदेशस्तरबाटै छपाई र वितरणको व्यवस्था गर्न यातायात विभाग र प्रदेश विच समन्वय हुनु पर्ने बताउनुभयो । यस्तै छपाई भएका ईम्बोष्ड नम्बर प्लेट जडान कार्यलाई तिव्रता दिन समेत उहाँले निर्देशन दिनुभयो । यातायात विभागका महानिर्देशक राजिव पोखरेलले यातायात क्षेत्रको सेवा प्रवाहमा संघ, प्रदेश र स्थानीय तहको समन्वयकारी भुमिकालाई दर्विलो कार्यान्वयन गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा सवै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयका सचिवहरुको सहभागीता रहेको थियो ।