काठमाडौं : काठमाडौंमा आयोजना हुने तय भएको नवौं संस्करणको युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । आइयूपीएसी अन्तर्गत नेपालको आधिकारीक संस्था नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालयको संयुक्त आयोजनामा हुने सम्मेलनमा हालसम्म ४२ विद्यालयका ७७ वटा परियोजना दर्ता भइसकेका छन् । सम्मेलनमा कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सहभागिता सुनिश्चित भएको छ । पुसको १२ र १३ गते काठमाडौंको कमलादीस्थित यूनिग्लोब कलेजमा आयोजना हुने सम्मेलनमा आईआईटी गुवाहाटीका प्रतिष्ठित प्राध्यापक तथा सेन्टर फर सस्टेनेबल पोलिमरका निर्देशक प्रा. डा. विमल कटियार मुख्य वक्ताको रुपमा रहने आयोजकले जनाएको छ ।
सम्मेलनमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत देशभरीका युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले विभिन्न ५ विद्यामा आफ्ना अनुसन्धान परियोजना प्रस्तुत गर्नेछन् । जसमा जीव विज्ञान, रासायनिक र पर्यावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ्ग र रोबोटिक्स, कम्प्यूटर विज्ञान र कृत्रिम बौद्घिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधि जस्ता विषय समावेश रहेका छन्। प्रत्येक विधामा उत्कृष्ट परियोजनालाई “युवा वैज्ञानिक”उपाधिले सम्मानित गरिनुको साथै सिङ्गापुरमा आयोजना हुने १४औं एशिया प्यासिफिक कन्फेरेन्समा सहभागिता जनाउनको लागि आवेदन दिन योग्य मानिनेछ । यसबाहेक छानिएका युवा वैज्ञानिकहरुले नेपाल पोलिमर इन्स्टिच्युटको राष्ट्रिय अनुसन्धान समितिको सहयोग र वैज्ञानिक मार्गदर्शनमा वैज्ञानिक समुदायमा आफ्नो क्षमताविस्तार गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुसन्धान र नेटवर्किङमा पहुँच प्राप्त गर्न सक्नेछन।
प्रतिक्रिया