काठमाडौं । विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डे दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहणका लागि प्रस्थान गर्दैछन् । आरोही प्रकाशराज पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानमा सफलताको शुभकामना दिई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाई गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्वतारोही पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै आरोहण अभियान सफलताको शुभकामना दिए । प्रधानमन्त्रीले समाजमा सकारात्मकता फैलाउने युवाहरुको सबै अभियानमा आफ्नो सधैं साथ रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । पाण्डे जनवरी २० तारिखमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सका लागि प्रस्थान गर्दैछन् । सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमालको सफल आरोहण गरेका पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान शुरु गर्दै २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गरेका थिए । त्यसपछि सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारोको सफल आरोहण गरेका थिए ।
रामेछाप लिखु तामाकोशी–७, तिल्पुङ स्थायी घरभई हाल महालक्ष्मी नगरपालिका–२, ललितपुरमा बसोबास गरिरहेका पाण्डेले सन् २०१६ देखि पर्वतारोहण सुरु गर्दै २०१८ मा सगरमाथाको आरोहण गरेयता निरन्तर हिमालहरू चढ्दै आएका छन् । अब नियमितरुपमा सबै महादेशका हिमालहरु चढ्दै जाने लक्ष्य रहेको बताउँदै आरोही पाण्डेले उनको यो अभियान हिमाल चढ्ने अभियान मात्रै नरहेको प्रतिक्रिया दिए । आफ्नो अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरहरुका बारेमा पनि कुरा उठाउने र सरोकार राख्ने सबैलाई यसतर्फ ध्यानाकृष्ट गराउने गरेको उनले बताए । जलवायु परिवर्तन निम्त्याउन हाम्रो नगण्य भूमिका भएपनि यसका कारणले हामीले विषम परिस्थितिको सामना गरिरहनु परेको हुँदा सबै ठूला र शक्तिशाली राष्ट्रहरुको चासोको विषय हुनुपर्ने उनले बताए । अन्य आरोहणमा जस्तै यस आरोहणमा पनि जलवायु परिवर्तनका विषयमा उक्त हिमाल रहेको देशमा छलफल गर्ने र परिवर्तनका असरलाई नजिकैबाट नियाली आफ्नो अनुभव सम्बन्धित तहसम्म लैजाने विचार रहेको उनले बताए ।
लोकप्रिय खेल फुटबल मार्फत अर्जेन्टिना चिनेका धेरैजसो नेपाली मध्ये थोरैलाइ मात्र दक्षिण अमेरिकाको उच्च हिमशिखर अर्जेन्टिनामा छ भन्ने थाहा हुनसक्छ तरपनि आफनो आरोहण अभियानले नेपाली युवामाझ अर्जेन्टिनाका बारेमा जानकारी पुग्ने र अर्जेन्टिनामा पनि सुन्दर पर्वतीय देश नेपालको बारेमा थप परिचय स्थापित गर्न भूमिका खेल्ने विश्वास पाण्डेको छ । सन् १९६२ मा दौत्य सम्बन्ध कायम भएका दुई देश नेपाल र अर्जेन्टिना बीच भौगोलिक दुरीकै कारण हुनुपर्छ, सामान्य व्यापारिक सम्बन्ध बाहेक विशेष आदानप्रदान भएको देखिंदैन । तरपनि एउटा नेपाली युवाले आफूबाट पृथ्वीको अर्को छेउमा रहेको देश अर्जेन्टिनामा भएको समग्र अमेरिकी महादेशकै उच्च हिमाल आरोहण गर्नुले दुई देशको दौत्य सम्बन्धका लागि पनि सेतुको काम गर्ने विश्वास उनले लिएका छन् । समृद्ध रहिसकेको अर्जेन्टिनाले हालैका दिनमा आर्थिक र राजनीतिक उतारचढाव भोगिरहेको भएपनि लाखौं अर्जेन्टिनीहरु बिदामा विश्वका विभिन्न मुलुकको भ्रमणमा निस्कन्छन् । अर्जेन्टिनाबाट घुम्न निस्कने ठूलो संख्याको पर्यटकको उल्लेख्य हिस्सा भित्र्याउन सक्ने गरी नेपालको पर्यटनको प्रवर्द्धन र प्रचारप्रसारमा समेत आफ्नो अभियानले टेवा पुर्याउन सक्ने पाण्डे बताउँछन् ।
हिमाल आरोहणमा विशेष मानिने सेभेन समिट अभियानको क्रममा सातै महादेशका अग्ला हिमालहरुमा फहराएको नेपालको झण्डा नेपाली भूमिमै फर्किएर सगरमाथामा पुनः फहराउने पाण्डेले बताए । पाण्डे पर्वतारोहणका अतिरिक्त अन्तर्राष्ट्रिय युवा अभियान स्काउट र रोटरी इन्टरनेशनलमा समेत आवद्ध छन् । स्काउटका संस्थापकको नाउँमा नामाकरण गरिएको नेपालमा रहेको हिमाल बेडेन पावेल स्काउट पिक पनि उनले दुइपटक चढिसकेका छन् । स्काउट र रोटरी मार्फत पनि नेपालको पर्यटन प्रवर्दन गर्ने गरेको पर्वतारोही पाण्डे बताउँछन् । उनको अभियानमा मकालु आउटफिटले आवश्यक माउन्टेनियरिंग गियरहरु उपलब्ध गराएको छ भने अन्य व्यवसायिक तथा रणनीतिक साझेदारहरु जोडिने क्रम बढ्दै गएकोले आफ्नो अभियान छिटै सफल हुनेमा आरोही पाण्डे विश्वस्त छन ।
प्रतिक्रिया