राजनीति

नयाँ थप्नु भन्दा पुराना आयोजना पूरा गर्नु अहिलेको आवश्यकता हो : भौतिक पूर्वाधार मन्त्री दाहाल

नेपालगञ्ज। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नयाँ योजनाहरु थप्नु भन्दा शुरु भएका योजनाहरु पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताउनु भएको छ । श्रोत साधन र आवश्यकता अनुसार सरकारले नयाँ योजनाहरु थप्दै जान सक्ने भए पनि थालिएका योजनाहरु अलपत्र पारिने क्रम अव अन्त्य हुनु पर्ने उहाँको भनाई छ । नेपालगञ्जमा आयोजीत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत अन्तर्गतका कार्यालय प्रमुखहरु सहभागी कार्यशालाको आईतबार उद्घाटनका क्रममा उहाँले ‘क्रोनिक’ आयोजना तथा योजनाहरुलाई प्राथमिकता दिएर पूरा गर्न समेत उहाँले निर्देशन दिनु भयो ।

‘सरकारले आफुसँग भएको श्रोत साधन तथा आवश्यकता अनुसार नयाँ योजना तथा आयोजनाहरु नियमित रुपमा थप्ने र ल्याउने नियमित प्रकृया हो’ मन्त्री दाहालले भन्नुभयो, ‘तर अब नयाँ योजना र आयोजनाहरु थप्न तर्फ भन्दा थालिएका कामहरु पूरा गर्न तर्फ जोड दिनु होला, अवरुद्ध र क्रोनिक आयोजनाका कारण नागरिकमा निराशा बढ्ने स्थिति आउनु हुँदैन ।’ डिभिजन तथा आयोजना कार्यालयहरुले गर्नु पर्ने काम र अघि बढाउनु पर्ने प्रकृयालाई गति दिन निर्देशन दिँदै उहाँले नीतिगत तथा कानूनी समस्याका कारण कार्यसम्पादनमा समस्या भए मन्त्रालयले सहजीकरण गर्ने तर काम अवरुद्ध हुन नदिईने समेत बताउनुभयो । अहिले प्रमुख दलहरु सहभागी भई स्थिर सरकार बनेको भन्दै उहाँले अहिलेको सरकारलाई असफल हुने छुट नभएको पनि बताउनुभयो । मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल सहित विज्ञहरुले आयोजना सञ्चालन तथा व्यवस्थापनका सम्वन्धमा अभिमुखीकरण गर्नु हुने छ । यस अघि पोखरा, मोरङ र काठमाडौमा यसै प्रकारको अभिमुखीकरण तथा प्रशिक्षण सम्पन्न भएको मन्त्रालयका ईन्जिनियर प्रमोद खतिवडाले जानकारी दिनु भएको छ ।