मनाेरञ्जन

फागुनमा ‘लक्की फिल्मी अवार्ड २०८१’ हुने, अवार्डको तयारीमा जुट्यो लक्की मिडिया

निराज रानाभाट, चितवन । चितवनको भरतपुरमा रहेको मोफसल कै चर्चित लक्की मिडिया हाउसले फागुन २५ गते ‘ लक्की फिल्मी अवार्ड – २०८१ ’ गर्ने भएको छ । ‘ चलचित्र उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान ’ भन्न मूल नाराका साथ आयोजना गर्न लागिएको अवार्डका लागि तयारी थालिएको छ ।लक्की मिडिया हाउस चितवनका महा – प्रबन्धक हरि कार्की ‘ लक्की ’ ले फिल्म अवार्डलाई भव्य रुपमा सम्पन्न गर्नका लागि कलाकार, समाजसेवी, व्यवसायीहरुसँग सुझाव संकलन अभियान चलाएको बताए । लक्की मिडिया हाउस चितवनले आयोजना गर्ने फिल्मी अवार्डलाई लिएर सिने क्षेत्रका अग्रज, समाजसेवी, व्यवसायीहरु सबै उत्साहित रहेको कार्कीले बताए । ‘हामीले फिल्मी अवार्डलाई भव्य र सभ्य बनाउन सुझाव संकलन तीव्र पारेका छौँ’, कार्कीले भने,‘हामी सँग छलफलका क्रममा सबै उत्साहित हुनु हुन्छ, अवार्डले सिने जगतमा चितवनको थप पहिचान कायम हुने छ ।’

लक्की फिल्मी अवार्डका क्रममा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न २४ वटा विधामा कलाकारहरूलाई सम्मान गरिने महा – प्रबन्धक कार्कीले बताए । सिने क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन गुणस्तरीय सिनेमा निर्माणका लागि अवार्ड कार्यक्रमले सघाउने कार्कीको विश्वास छ । फिल्मी अवार्ड तथा सम्मान कार्यक्रमलाई चितवनको गौरव र गरिमामय कार्यक्रमको रुपमा अगाडि बढाउँदै बर्सेनि सम्मानको कार्यक्रमलाई निरन्तरता दिइने कार्कीको भनाइ छ । मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको कार्कीले बताए । वि.सं. २०७१ सालमा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसको प्रर्वद्धनका लागि विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ । फिल्मी अवार्ड वितरण कार्यक्रममा लामो समयदेखि काम गर्दै आएका पत्रकार, मावनीय सेवामा समर्पित व्यक्ति, व्यवसायी, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी, शिक्षक, खेलाडीलगायतको हौसलाका लागि उनीहरुको प्रतिनिधित्व हुने गरी १/१ जना व्यक्तिलाई सम्मान समेत गरिने महा – प्रबन्धक कार्कीले बताए ।