काठमाडौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विपद् पछिको पुननिर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयका विभागीय प्रमुख एवम् आयोजना प्रमुखहरुलाई मंगलबार निर्देशन दिँदै उहाँले बाढी पहिरोले क्षतिग्रस्त बनाएका सडकमा आगामी वर्षायाममा समेत सवारी सञ्चालन हुने गरि काम थाल्न निर्देशन दिनु भएको हो । ‘हामीले विभिन्न माईलस्टोनहरु कायम गरेका छौं, तिनको उपलव्धिबारे समिक्षा गर्नुहोला’ मन्त्री दाहालले भन्नुभयो, ‘अहिले सवै भन्दा बढि काम गर्ने बेला हो, यसको अधिकतम उपयोग गरि लक्ष्य हाँसिल तर्फ लाग्न आवश्यक छ ।’ सडक एवम् पुल निर्माणका लागि बाँकि ठेक्काहरुलाई लगाई सक्न सडक विभागलाई निर्देशन दिँदै उहाँले रुग्ण आयोजनाहरुको व्यवस्थापन तर्फ लाग्न समेत आग्रह गर्नुभयो । यस्तै सवारी चालक अनुमति पत्र वितरणलाई प्रदेश स्तरबाटै प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि यातायात व्यवस्था विभागलाई मन्त्री दाहालले निर्देशन दिनु भएको छ ।
सम्भावनायुक्त थप नदीहरुमा पानी जहाज सञ्चालनको अध्ययनका लागि नेपाल पानी जहाज कार्यालयलाई निर्देशन दिँदै मन्त्री दाहालले समुद्रमा नेपाली पानी जहाज सञ्चालनको कानूनी व्यवस्थाका लागि मन्त्रालयले काम गरि रहेको मन्त्री दाहालले बताउनुभयो । यस्तै पूर्वपश्चिम रेलमार्गका लागि अधिग्रहण गर्नु पर्ने जग्गाको मुआव्जा वितरणका लागि समेत मन्त्रालयले काम गरि रहेको उहाँले जनाउनु भएको छ । यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले राष्ट्रिय गौरवका आयोजनाहरुलाई विशेष ध्यान दिएर काम गर्न निर्देशन दिनुभयो । हुलाकी राजमार्ग एवम् पुल, पूर्वपश्चिम राजमार्गको विस्तार लगायत महत्वपूर्ण योजनाहरुमा ढिला सुस्ती हुन नदिन सडक विभागलाई निर्देशन दिनुभयो । वर्षाको समयमा यातायात अवरुद्ध हुन नदिन वीपी राजमार्गका साथै काठमाडौ–मुग्लिन, कृष्णभिर, झ्याप्ले खोला क्षेत्रमा विषेश ध्यान दिएर काम गर्न उहाँले निर्देशन दिनुभयो । ग्वार्को फ्लाई ओभरलाई चैत भित्रमा पूरा गराउनु पर्ने भन्दै उहाँले छिचोलिएको सिद्धबाबा सुरुङ्को बाँकि कामलाई तिव्रता दिन भन्दै नागढुंगा सुरुङ् सञ्चालनको मोडालिटी बनाउन समेत उहाँले आयोजना कार्यालयहरुलाई निर्देशन दिनुभयो ।
प्रतिक्रिया