राजनीति

कर्मचारी सङ्गठनले सुशासनको पैरवी गर्नुपर्छ : मन्त्री भण्डारी

काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्मचारीहरूले सुशासन कायम गर्नमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन, उद्योग, वाणिज्य तथा आपूर्ति विभागीय समितिको १२औँ अधिवेशन उद्घाटन समारोहमा बोल्दै उहाँले कर्मचारी सङ्गठनले सुशासन, पारदर्शिता र जबाफदेहिताको पैरवी गर्नुपर्ने बताउनुभयो ।

कर्मचारीहरू आफ्नो जिम्मेवारीमा प्रतिबद्ध र वफादार भए मात्रै देशको अर्थतन्त्र सुधार हुने बताउँदै उहाँले अनलाइन प्रणालीबाट कार्य सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । सेवाग्राहीले लाइन बसेर सेवा लिने प्रवृत्ति हटाउनुपर्ने मन्त्री भण्डारीको भनाई छ । उहाँले भन्नुभयो, ‘अब लाइन होइन अनलाइन भनेर बुझ्नुपर्छ, जो कर्मचारीलाई प्रविधिको उच्चतम प्रयोग गरेर अनलाइन प्रणामीमा काम गर्दा अप्ठ्यारो लाग्छ उसले अन्यत्र जानका लागि तयारी गर्नुस् ।’ मन्त्रालय मातहतकै केही निकायका कर्मचारीहरूलाई अटोमेशन प्रणाली चित्त नबुझेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । सरकारले तय गरेको पूर्ण अटोमेशन प्रणाली प्रयोगमा ल्याउन कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।

मन्त्री भण्डारीले केही कर्मचारीहरू आफ्नो व्यक्तिगत लाभका लागि सङ्गठनमा आबद्ध हुने गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘ केही कर्मचारीहरू सङ्गठनको मर्म, भावना, मूल्य र मान्यता विपरीत गलत कर्मबाट जोगिनका लागि सङ्गठनको साथ लिने गरेको पाइन्छ, पहिला यो प्रवृत्ति प्रर्ण रूपले हटाउनुस्, त्यसपछि सङ्गठनमा आबद्ध हुनुस् ।’ मन्त्री भण्डारीले कर्मचारीहरूको सङ्गठनलाई धुमिल स्थितिबाट उज्यालो अवस्थामा पु¥याउनका लागि सङ्गठनमा कामगर्न आग्रह गर्नुभयो । सङ्गठनको अवधारणा, औचित्य, मर्म र भावनालाई अब्बल राख्नुपर्नेमा उहाँको जोड रहेको छ ।