काठमाडौ। सडक एवम् सवारी दुर्घटनाका कारण हुने मानवीय तथा आर्थिक क्षति न्युनिकरण गर्न नेपालले नीतिगत व्यवस्था गर्ने अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रतिवद्धता व्यक्त गरेको छ । सडक सुरक्षाको विषय विश्वव्यापी चुनौती बनि रहेको अवस्थामा सडक तथा सडकका संरचना निर्माणसँगै सुरक्षालाई पनि प्राथमिकता दिने नेपालको प्रतिवद्धता छ । मोरोक्कोको मोरोकेस सहरमा १८ देखि २० फेब्रअरी सम्म भएको सडक सुरक्षा सम्वन्धि चौथो विश्व सम्मेलनमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले देशको समग्र विकासलाई सडक सुरक्षासँग समेत जोडेर अघि बढाईने पनि प्रतिवद्धता व्यक्त गर्नु भयो । सुरक्षित र दिगो संरचना निर्माणसँगै यातायात नियमन र व्यवस्थापनका लागि विश्वमा अभ्यास भएका मापदण्ड सहितको नीतिगत व्यवस्था गर्ने काम समेत भई रहेको उहाँको भनाई थियो । यस्तै मन्त्रालयका सहसचिव सुशिल ढकालले सडक सुरक्षाका सम्वन्धमा नेपालका अभ्यास, अवस्था तथा आवश्यकताका सम्वन्धमा प्रकाश पार्नु भएको थियो ।
सम्मेलनमा नेपालको तर्फबाट मन्त्रालयका सचिव शर्माको नेतृत्वमा रहेको प्रतिनिधी मण्डलले भाग लिएको थियो । सचिव शर्मा सहित मन्त्रालयका सहसचिव सुशिल ढकाल, शुभराज न्यौपाने, उपसचिव शंकरसिंह धामीले कार्यक्रममा भाग लिनु भएको थियो । यस्तै नेपालमा सडक सुरक्षा सम्वन्धि क्षेत्रमा कार्यगर्दै आएका संघ, संस्थाका प्रतिनिधी, अनुसन्धानकर्मी लगायतको समेत सहभागीता रहेको थियो । कार्यक्रममा १३० भन्दा देशका प्रतिनधीहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया