चन्द्रागिरि, काठमाडौं – चन्द्रागिरि नगरपालिका-१ दहचाेक स्थित ऋर्चा सह शिक्षा सदनले आफ्नो ३५औँ अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी, विशेष अतिथि हरिश्याम राना, विभिन्न राजनीतिक दलका प्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गिरीले शिक्षालाई व्यवसायमुखी र उत्पादन केन्द्रित बनाउन आवश्यक रहेको बताए। उनले वर्तमान शिक्षा प्रणालीलाई सुधार गर्दै सीपमूलक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने धारणा राखे। साथै, विद्यालयको निरन्तर प्रगति र गुणस्तरीय शिक्षामा जोड दिँदै यसको विकासका लागि नगरपालिका सधैं सहयोगी रहने प्रतिवद्धता जनाए।
विद्यालयका प्रधानाध्यापक सतिस खड्काले कार्यक्रममा उपस्थित सम्पूर्ण अभिभावक, अतिथि तथा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरे। संस्थापक प्रधानाध्यापक नवराज खड्काको योगदानलाई नगर प्रमुख गिरीले उच्च सम्मान गर्दै विद्यालयलाई यस स्थानसम्म पुर्याउन उनको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे। ऋचा सह शिक्षा सदनका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अतिस खड्काले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिभावकको सक्रिय सहभागिता अत्यावश्यक रहेको बताए ।
उनका अनुसार विद्यालयमा भौतिक पूर्वाधार सुधारसँगै अध्यापन शैलीलाई आधुनिक बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन्। “विद्यार्थीको समग्र विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावक बीचको समन्वय महत्वपूर्ण छ। अभिभावकको सुझाव र सहभागिता बिना प्रभावकारी शैक्षिक सुधार सम्भव छैन,” खड्काले भने। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले दर्जनौँ सांस्कृतिक प्रस्तुति, नृत्य, गायन, तथा वाद्यवादन प्रदर्शन गरेका थिए। कार्यक्रममा मयुर नित्य विशेष रहेकाे स्थानीय अभिभावक तथा सञ्चारकर्मी यमन पाैडेलले बताए । विद्यालयबाट यस वर्षको एसईई परीक्षा दिने विद्यार्थीहरूलाई विशेष सम्मान गर्दै विदाइसमेत गरिएको थियो।
कार्यक्रममा नेकपा (एमाले) दहचोकका प्रतिनिधि राजन गिरी, माओवादी केन्द्रका राजन गिरी, जसपाका राजु रोक्का लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिले समारोहलाई थप भव्य बनाएको थियो। विद्यालयको ३५ वर्षको यात्रामा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको निरन्तर सहयोग रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।
प्रतिक्रिया