नवलपुर । प्रगतिशील युवा क्लब र कावासोती नगरपालिका वडा नम्बर १३ को समन्वयमा ‘ १० दिने डिजिटल उद्यमशिलता तालिम ’ शुरु भएको छ । क्लबका अध्यक्ष समिर लामिछानेको अध्यक्षतामा तथा कावासोती नगरपालिका वडा नम्बर – १३ का कार्यवाहक वडा अध्यक्ष दुर्गा माया चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भव्य रूपमा उद्घाटन गरिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले प्रविधिमैत्री समाज निर्माणका लागि यस्ता तालिम महत्त्वपूर्ण रहने बताइन् । चौधरीले युवा वर्गलाई उद्यमशिलतामा प्रेरित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने भन्दै आगामी दिनमा वडा कार्यालयको कार्ययोजनामा समेट्ने प्रतिबद्धता जनाइन् ।
उक्त तालिममा ओरेकल एजुकेशन इन्स्टिट्युटका कम्प्युटर प्रशिक्षक अनिश पौडेलको सहजिकरण रहेको छ । पौडेलले युवा वर्ग र प्रविधिबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै प्रविधिको सही उपयोगले युवाहरूलाई आत्मनिर्भर बनाउन सकिने बताए । डिजिटल उद्यमशिलता अहिलेको आवश्यकता भएकाले यस्तो तालिमले सहभागीहरूलाई नयाँ सीप दिलाउने पौडेलको भनाइ छ । यस्तै, उक्त तालिममा डिजिटल उद्यमशिलताको आधारभूत ज्ञान, प्रविधिको उपयोग, अनलाइन व्यवसाय प्रवर्द्धन तथा डिजिटल मार्केटिङका विषयमा प्रशिक्षण दिइने आयोजकले जानकारी दिएको छ । स्थानीय युवा र विद्यार्थीहरु उपस्थित रहेको तालिम १० दिनसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया