Breaking

पत्रकार निराज रानाभाटलाई विश्व प्रकृति संरक्षण नेपालको सम्मान

काठमाडौंको टोखा नगरपालिका -४, धापासी हाइटस्थित रैथाने एग्री प्रडक्ट्स नेपालको कार्यालय परिसरमा ‘ कृषिमा उन्नति, देशको प्रगति ’ भन्ने नाराका साथ विश्व प्रकृति संरक्षण नेपाल ( WWN ) को आयोजना तथा बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, टोखा नगरपालिका, रैथाने एग्री प्रडक्ट्स नेपाल एवं विभिन्न संस्थाहरुको सहकार्यमा आयोजना गरिएको ‘ बृहत् कृषि मेला ’ मा रानाभाटलाई नेपालको रैथाने कृषि मौलिक सीप, कला र प्रविधि समुदाय विशेष खानाको जर्गेना गर्न निरन्तर प्रयास तथा महत्वपूर्ण योगदानको कदर गर्दै कदर – पत्रद्दारा आज सम्मान गरिएको हो ।

कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले रानाभाटलाई कदर – पत्र प्रदान गरेका हुन् । कृषि जैविक विविधता, मौलिक सीप, कला र प्रविधिहरुको संरक्षण, प्रवर्धन र बजारीकरणका लागि निरन्तर सहयोग गरेकोमा रानाभाटलाई विश्व प्रकृति संरक्षण नेपालले धन्यवाद समेत व्यक्त गरेको छ । रानाभाट विगत १ दशकदेखि कृषि, आर्थिक, शिक्षालगायतका क्षेत्रमा कलम चलाइरहेका छन् । निराज रानाभाट जन अपडेट मिडिया एण्ड एडभर्टाइजमेन्ट प्रा.लि. द्दारा संचालित जन अपडेट डट कम प्रबन्ध निर्देशक समेत हुन् ।

यसअघि रानाभाटलाई २०८१ चैत २८ गते नेपाल डेरी एसोसिएशनले सम्मान गरेको थियो । काठमाडौंको नयाँ बानेश्वरमा ‘ नियमित मोही सेवन, स्वस्थ र फुर्तिलो जीवन ’ भन्ने नाराका साथ पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास बोर्डको सहकार्यमा नेपाल डेरी एसोसिएशन एवं विभिन्न सरोकारवाला संस्थाहरुले आयोजना गरेको ‘ राष्ट्रिय मोही दिवस एवं राष्ट्रिय मोही सेवन अभियान शुभारम्भ कार्यक्रम – २०८१ ’ को अवसरमा रानाभाटलाई दुग्ध पदार्थ विविधीकरण अन्तर्गत मोहीको मौलिकता, उपयोगिता, व्यवसायिकता तथा बजारीकरण गरी मोहीको राष्ट्रिय प्रवर्द्दनमा मिडिया मार्फत निरन्तर योगदान पुर्‍याएको भन्दै दोसल्ला ओढाइ साथै सम्मान – पत्रद्दारा सम्मान गरिएको थियो