काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्रको विकल्पमा अन्य कुनै पनि शासन व्यवस्था नहुने स्पष्ट पार्नुभएको छ। बुधबार प्रज्ञा प्रतिष्ठानले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको कविता उत्सवमा बोल्दै मन्त्री पाण्डेले लोकतान्त्रिक व्यवस्थाका कमजोरीहरू सुधार्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “लोकतन्त्रको विकल्पमा कुनै पनि राजनीतिक व्यवस्था हुन सक्दैन। लोकतन्त्रमा भएका कमी–कमजोरी सुधार गर्दै जानुपर्छ। प्राप्त उपलब्धिहरू गुमाएर अर्को व्यवस्था ल्याउने कुरा देशलाई फेरि गोलचक्रमा लैजाने प्रयास मात्रै हुन्छ।”
मन्त्री पाण्डेले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै नेपालको स्थायित्व र समृद्धिको आधार भएको उल्लेख गर्दै यसैलाई सबल र प्रभावकारी बनाउनु नै आजको आवश्यकता भएको बताउनुभयो। उहाँले तीनवटै तहका सरकारबीच समन्वयमा आधारित कार्यशैली आवश्यक रहेको धारणा राख्दै सबै तहका सरकारले एकअर्कासँग मिलेर राष्ट्र निर्माणमा लाग्नुपर्ने औंल्याउनुभयो। मन्त्री पाण्डेले नेपाली कवि, साहित्यकार र लेखकहरू क्रान्तिका प्रत्येक चरणमा जनचेतना जगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै गणतन्त्रको पक्षमा कलम चलाउन आग्रह गर्नुभयो। साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिर्जनात्मक व्यक्तित्वहरूको सम्मान र प्रवर्द्धनमा सधैं तयार रहेको उल्लेख गर्दै उहाँले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाइने प्रतिवद्धता जनाउनुभयो।
प्रतिक्रिया