Breaking

विजय हितानको ‘मलाई आर्यघाट लगेर नजलाउनु’ पुस्तक भोलि विमोचन हुँदै

काठमाडौँ । नेपाली पर्या साहित्य प्रतिष्ठानको आयोजनामा तथा साहित्य पोष्टको सह–आयोजनामा भोलि प्रज्ञा प्रतिष्ठानको भवनमा “दशौं वातावरण साहित्य गोष्ठी” आयोजना हुने भएको छ। कार्यक्रममा लेखक विजय हितानद्वारा रचित पर्या कविता संग्रह ‘मलाई आर्यघाट लगेर नजलाउनु’ को लोकार्पण गरिनेछ। वातावरणीय सरोकार बोकेको यस कवितासंग्रहले प्रकृति, जीवन, र वातावरणीय परिवर्तनबारे गहिरो अनुभूति र चिन्तन प्रस्तुत गरेको छ। लेखक हितानले वातावरण विज्ञानमा स्नातक गरेका छन् र उनी लामो समयदेखि वातावरणीय संरक्षणका क्षेत्रमा सक्रिय छन्।

गोष्ठीमा पर्या निबन्ध प्रतियोगितामा सहभागी १०८ निबन्धमध्येबाट छनोट गरिएका उत्कृष्ट ३२ निबन्धहरूको संग्रह पनि सार्वजनिक गरिने आयोजकले जनाएका छन्। तिनैमध्ये प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने निबन्धकारहरूलाई पुरस्कारसहित सम्मान गरिनेछ भने बाँकी २९ प्रतियोगीलाई पनि प्रशंसापत्र प्रदान गरिनेछ। कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ डा.अभि सुवेदी रहनेछन् भने विशेष अतिथिका रूपमा ज्ञानबहादुर क्षत्री रहनेछन्। गोष्ठीका की–नोट स्पिकरका रूपमा डा.गोविन्दराज भट्टराई तथा वक्ताका रूपमा डा. गीता त्रिपाठी र डा.अशोक थापा रहनेछन्। कार्यक्रमको संयोजन लेखक विजय हितान स्वयंले गरेका हुन्।आयोजकका अनुसार यो गोष्ठीले वातावरण र साहित्यबीचको सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य राखेको छ।