शिक्षा/स्वास्थ्य

नेसनल प्याब्सनको संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न, २०० बढीको सहभागिता

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) केन्द्रीय समितिको आयोजनामा तथा जिल्ला समिति, मोरङको समन्वयमा आयोजित एक दिवसीय संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ। मोरङको विराटचोकमा सम्पन्न उक्त कार्यक्रम आज बिहान ८ बजे सुरू भई साँझ ५ बजे सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता नेसनल प्याब्सनकी केन्द्रीय अध्यक्ष गीता क्षेत्री राणाले गरेकी थिइन्।

कोशी प्रदेशका निजी विद्यालयका संस्थापक, प्रिन्सिपल तथा संयोजकहरू गरी २०० भन्दा बढी सहभागी रहेको कार्यक्रममा संगठनात्मक विषयवस्तु, शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन तथा अनुभव साटासाटका सत्रहरू सञ्चालन गरिएको थियो। कार्यक्रममा प्रदेश सचिव कमल खनालको उपस्थिति रहेको थियो भने कोशी प्रदेश संयोजक तथा केन्द्रीय उपाध्यक्ष कुमार बहादुर भट्टराईले स्वागत मन्तव्य दिएका थिए।

प्रशिक्षण सत्रको संयोजन नेसनल प्याब्सनका पूर्व अध्यक्ष तथा शिक्षा नीति तथा प्रशिक्षण आयोगका प्रमुख कर्णबहादुर शाहीले गरेका थिए। प्रशिक्षणमा काठमाडौँ विश्वविद्यालयका डा. सुदन झा, आइएनजी ग्रुपका सुलभ बुढाथोकी र कर्णबहादुर शाहीले आ–आफ्ना प्रस्तुति दिएका थिए। पूर्व अध्यक्ष पाण्डव हमाल, ऋतुराज सापकोटा र अन्य अतिथिहरूको समेत उपस्थिति रहेको कार्यक्रममा धन्यवाद ज्ञापन प्रवत राईले गरेका थिए। उपाध्यक्ष भट्टराईका अनुसार यस्ता कार्यक्रमहरूले शिक्षा क्षेत्रका सरोकारवालाबीच आपसी समन्वय र अनुभव साटासाटको माध्यमबाट संगठनात्मक सुदृढीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ।