शिक्षा/स्वास्थ्य

रेडियन्ट रिडर्स एकेडेमीमा विद्यार्थी शुसोभन कार्यक्रम सम्पन्न

काठमाडौँ । ललितपुर सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले विद्यार्थी शुसोभन कार्यक्रम–२०८२ु भव्य रूपमा सम्पन्न गरेको छ। नेपाल प्रहरीका एआईजी तथा काठमाडौं उपत्यका प्रहरी प्रमुख टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा करिब ८०० विद्यार्थी र २०० अभिभावकको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि टेक बहादुर तामाङले सम्बोधन गर्दै, “एउटा परिवार सञ्चालन गर्न पनि नेतृत्व क्षमताको खाँचो पर्छ,” भन्दै बालबालिकामा सानो उमेरदेखि नै नेतृत्व विकास आवश्यक रहेको बताए। उनले विद्यालयले विद्यार्थीहरूलाई नेतृत्वदायी जिम्मेवारी दिँदै उनीहरूलाई सक्षम बनाउने कार्य प्रशंसनीय रहेको उल्लेख गरे। साथै, यिनै विद्यार्थीहरू भविष्यमा राज्यका विभिन्न तहमा रहेर कुशल नेतृत्व दिने विश्वास व्यक्त गरे।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल डीके ढुङ्गानाले अहिलेका विद्यार्थीहरू भोलिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेतृत्वदायी भूमिकामा रहने निश्चित भएको उल्लेख गर्दै, “नेतृत्व विकासका लागि विद्यालयले कुनै कमी राख्ने छैन,” भन्ने प्रतिबद्धता जनाए। विद्यालयले सञ्चालन गरेको यो कार्यक्रमले विद्यार्थीको क्षमता, आत्मविश्वास, र नेतृत्व गुणलाई उजागर गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।