विश्व

पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन सरकारको प्राथमिकतामा : मन्त्री दाहाल

काठमाडौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनमा सरकारले प्राथमिकता दिएको बताउनु भएको छ । उहाँले पर्यटकीय गन्तव्यहरु सम्म पुग्ने सडक, पुल लगायतका संरचनाहरुको निर्माण, विकास र स्तरीकरणमा मन्त्रालयले प्राथमिकता दिएको पनि उल्लेख गर्नु भएको छ । अठारौँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटन ः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको सोमबार अवलोकन गर्दै उहाँले सो बताउनु भएको हो । मन्त्री दाहालले नेपालको पर्वतीय पर्यटनले विश्वकै पर्यटकहरुलाई आकर्षित गरेको भन्दै यसलाई थप व्यवस्थित र सुविधायुक्त बनाउनु पर्नेमा जोड दिनुभयो ।
नेपालको आर्थिक विकासका लागि पर्यटन बलियो संभावना रहेको क्षेत्र रहेकाले यसको माध्यमबाट स्वरोजगारी सिर्जना समेत गराउन सकिने दाहालले जनाउनुभयो । त्यस क्रममा राससका महाप्रवन्धक सिद्धराज राईले रासस मिडीया संग्रालयको समेत अवलोकन गराउनु भएको थियो । गत जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यका ९६ तस्बिर राखिएको राससले जनाएको छ ।