शिक्षा/स्वास्थ्य

स्वस्तिश्री गुरुकुलमा विद्यालय तहमै उद्यमशीलता विषयक अन्तरक्रिया, विद्यार्थीको स्टार्टअप आइडिया प्रस्तुत

काठमाडौँ । स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलले “विद्यालय तहमा उद्यमशीलता” विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित काठमाडौं विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन प्र.डा. बालचन्द्र लुइटेलले उद्यमशीलता विकासका लागि विद्यालय तहमै पाठ्यक्रम निर्माण गरी लागू गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे । उनले विद्यालय तहमा यस्तो विषयमा आयोजित कार्यक्रम सम्भवतः पहिलोपटक भएको उल्लेख गर्दै विद्यालयको प्रयासप्रति खुसी र धन्यवाद प्रकट गरे । कार्यक्रम अन्तर्गत ‘युवा उद्यमीहरूः दृष्टिकोणदेखि उद्यमसम्म’ विषयमा प्यानल छलफल पनि आयोजना गरिएको थियो। प्रमुख अतिथि तथा प्यानालिस्टका रूपमा सहभागी द पावर स्कुल, म्याड्रिड स्पेनका प्रमुख विद्यालय विभाग प्रमुख एन्टोनी कर्नडेट (टोनी) ले विद्यार्थीहरूलाई किशोर अवस्थामै उद्यमशीलताको अवधारणा दिनुपर्नेमा जोड दिए । उनले बालबालिकालाई आफ्नो रुचिको क्षेत्रमा खोज, अनुसन्धान गर्दै अहिलेबाटै चुनौतीहरूको सामना गर्न सक्ने बनाउने वातावरण तयार पार्न विद्यालयहरूलाई सुझाव दिए ।

विद्यालयकी प्रिन्सिपल नेहा केसीले स्वस्तिश्री गुरुकुलले निरन्तर रुपमा बालबालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागी गराउँदै उद्यमशीलतासम्बन्धी चेतना र क्षमता विकासमा जोड दिएको जानकारी दिइन् । त्यस्तै, कारखाना नेपालका प्रमुख कार्यकारी निर्देशक पवित्र बहादुर गौतमले विद्यालय उमेरदेखि नै विद्यार्थीहरूमा जिज्ञासा, उत्सुकता, निडरताको विकास गर्नु आवश्यक रहेको बताए । प्यानल छलफलको सहजकर्ताको रूपमा स्टार्टअप एण्ड इनोभेटिभ फोरम (एफएनसीसीआई) की अध्यक्ष जुना माथेले आफैं २४ वर्षको उमेरमै उद्यमशील यात्रामा लागेर अहिलेको स्थानसम्म आइपुगेको अनुभव सुनाउँदै युवाहरूमा आत्मविश्वास विकास गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा स्वस्तिश्री गुरुकुल विद्यालयका तीन समूहका विद्यार्थीहरूले आफ्ना स्टार्टअप आइडिया प्रस्तुत गरेका थिए। विशेष अतिथिका रूपमा उपस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक कुमार गुप्ताले विद्यालय तहमा यस्ता कार्यक्रमको प्रशंसा गर्दै विद्यार्थीहरूका राम्रा आइडियालाई संस्थाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको समापनमा विद्यालयकी कार्यकारी निर्देशक मिना महर्जनले प्रमुख अतिथि, विशेष अतिथि र अन्य सहभागीहरूलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद व्यक्त गरिन्। कार्यक्रम कक्षा १२ का अधिश विनोद पोख्रेल र कक्षा ९ की सुफी बुढाथोकीले सञ्चालन गरेका थिए। कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका विद्यार्थी, अभिभावक तथा सम्पूर्ण शिक्षक–कर्मचारीको सक्रिय सहभागिता रहेको थियो।