कृषि

१४ कृषकले पाए राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार , पुरस्कारले कृषि पेशालाई आत्मसम्मान र सम्भावनाको बाटोका रूपमा स्थापित गर्ने छ ःकृषिमन्त्री अधिकारी

असार १० , काठमाडौ । देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ । कृषि तथा पशुपन्छी विकास मनत्रालयद्धारा राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरि एक प्रदेशवाट दुई जनालाई पुरस्कार प्रदान गर्नुभएको हो ।
पुरस्कृत हुने कृषकहरुमा कोशी प्रदेशवाट सुरेश कुमार मेहता ( आर्य कृषि फर्म)र रमेश साह (रमेश कृषि फर्म ) मधेस प्रदेशवाट भरत कुमार यादव( शम्भुनाथ माछा फर्म) र हिरा बहादुर थापा मगर ( निजगढ केरा एग्रीकल्चर ) वाग्मती प्रदेशवाट चेत प्रसाद ढकाल ( कालिका पशु विकास केन्द्र ) र दयाराम मचामसि ग्रीनलाईन एग्रो प्राली ) गण्डकी प्रदेशवाट छिरिङ ढोका गुरुङ ( ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्म ) र बाटुली तिवारी( मित्र वाटिका कृषि फर्म ) , लुम्बिनी प्रदेशवाट जयपाल मौर्य( खाधन्न वाली) र सुवास कुर्मी ( शान्ती उन्नत पशुपालन तथा माछा फर्म ) छ्न ।

त्यस्तै कर्णाली प्रदेशवाट गोविन्द ओली ( तरकारी खेती ) र भरतनाथ योगी( सुन्तला खेती) र सुदुरपश्चिम प्रदेशवाट प्रेमप्रसाद जोशी ( खप्तड पशुपन्छी तथा कृषि फर्म ) र लोकबहादुर थापा ( कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्राली ) छ्न । पुरस्कृत कृषकलाई जनही दुई लाख रुपैयाँ प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहान गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने पनि वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो–‘कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार÷उपकरण÷यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा राख्नुपर्ने विषयहरू हुन् । यसतर्फ म सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’


उहाँले निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको भन्दै कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गरी संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पूरा गर्न सकिने बताउनुभयो ।
राष्ट्रपति पौडेलले नेपालको कृषि क्षेत्रले उपभोगमुखी उत्पादन र न्यून निर्यात क्षमता र उच्च व्यापार घाटाको प्रतिविम्व गर्ने गरेको उल्लेख गर्दै अशिक्षित, गरिबी र न्युन आय हुने परिवारको पेशाको रुपमा रहेको कृषि व्यवसायले अहिले परिचय फेरेको बताउनुभयो । उहाँले भन्नुभयो–‘शिक्षित युवावर्ग तथा उच्च आय हुने परिवारले पनि अहिले कृषिलाई मुख्य पेशा बनाई यसैबाट लाखौ आम्दानी गरिरहेका उदाहरणहरू छन् र कृषिमा नविनतम प्रविधि भित्रिएको छ । कृषि क्षेत्रमा प्रशस्त सम्भावना देखिएका छन् । अहिले नेपालले कतिपय कृषिजन्य उत्पादनरू निर्यात गरी आम्दानी गरिरहेको छ भने दूग्ध उत्पादन, माछा मासु र अण्डामा आत्मनिर्भर भएको छ । यसरी कृषिले गति लिनुमा तपाईंहरूजस्तै पौरखी कृषकहरूको मेहनत र लगनको कारण हो ।’
उहाँले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको आर्थिक समृद्धि, विकास र शान्ति भएको भन्दै मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउन अति जरुरी रहेको बताउनुभयो ।
पुरस्कार वितरण समारोहलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले आजको दिन हामी सबैका लागि गर्व र प्रेरणाको दिन भएको वताउनुभयो ।नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा स्वीकृत “राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१” अनुसार देशभरका ७ वटै प्रदेश मन्त्रालयबाट उत्कृष्ट कृषकको रुपमा छानिएर आउनुभएका १४ जना कृषकहरूलाई उहाँहरुले कृषि क्षेत्रमा पु¥याउनु भएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै सम्मान गर्न पाउनु एक ऐतिहासिक अवसर भएको उल्लेख गर्नुभयो ।
मन्त्री अधिकारीले भन्नुभयो , हाम्रा किसानहरूले माटोमा बगाएको पसिनाले नै हाम्रो भान्छा भरिएको छ, हाम्रो अर्थतन्त्रलाई टेवा पुगेको छ र सिंगो राष्ट्रले खाद्य सुरक्षाको अनुभूति गर्न पाएको छ। ,प्रकृतिका चुनौतीहरूका वीच पनि कृषकहरुले कृषि क्षेत्रमा पु¥याउनुभएको योगदान अतुलनीय छ। उहाँहरूको अथक परिश्रम, धैर्यता र लगनशीलताको आज हामीले कदर गरेका छौँ मन्त्री अधिकारीले ,भन्नुभयो । उत्कृष्ट कृषक पुरस्कारले कृषि पेशालाई आत्मसम्मान र सम्भावनाको बाटोका रूपमा स्थापित गर्दै समाजमा नयाँ प्रेरणा दिएको उल्लेख गर्दे मन्त्री अधिकारीले यो सफलताले विशेष गरी युवाहरू, महिलाहरू र साना कृषकहरूका लागि प्रेरणाको स्रोत बनेको छ, जसले कृषि पेशाप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याइरहेको छ भन्नुभयो । पुरस्कृत भएका जस्तै हजारौ सक्रिय कृषकहरूको योगदानले नेपाली कृषि व्यवसायलाई आत्मनिर्भर, उत्पादनमुखी र आधुनिक बनाउने दिशामा महत्वपूर्ण मार्गनिर्देशन दिएको पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो । उहाँले थप्नुभयो , तपाईंहरूको सफलताले समाजमा कृषि पेशाप्रतिको दृष्टिकोण परिवर्तन गर्नेछ, र कृषि पेशालाई सम्मानित, सम्भावनायुक्त, र भविष्यदृष्टि भएको पेसाको रूपमा स्थापित गर्नेछ भन्ने विश्वास लिएको छु ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नीति, योजना र कार्यक्रममार्फत किसानमुखी सेवा प्रवाहलाई अझ प्रभावकारी र समावेशी बनाउने प्रतिवद्धता समेत मन्त्री अधिकारीले व्यक्त गर्नुभयो । कृषि क्षेत्रमा प्रविधिको प्रयोग, नवप्रवर्तन र युवा सहभागितालाई प्रोत्साहन गर्दै कृषि व्यवसायलाई देशको समृद्धिको आधार बनाउने हाम्रो साझा लक्ष्य रहेको र यसलाई वनाउन सवैको हातेमालो आवश्यक छ मन्त्री अधिकारीले भन्नुभयो ।