राजनीति

यातायात क्षेत्र ब्यबस्थित बनाउने मन्त्री दाहालको प्रतिबद्धता,भार बहन क्षमता कडाइका साथ लागु गर्ने

काठमाडौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्र लाई थप ब्यबस्थित बनाउन सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ ।
यसका लागि नितिगत सुधार देखि कार्यान्वयनमा ध्यान दिएको उहाँको भनाइ छ । यस्तै सवारी साधनहरुलाई भारबहन क्षमता अनुसार सञ्चालन गर्ने प्रवन्ध कडाईका साथ लागु गरिने पनि उहाँले बताउनु भएको छ । नेपाली सडक तथा संरचनाहरुको दिगो उपयोगका लागि भारबहन क्षमता कडाईका साथ लागु गर्न आवश्यक रहेको रहेको उहाँको भनाई छ । अधिक भारका मालबाहक सवारी साधनहरुका कारण नेपालका पुल तथा सडकहरुमा ठुलो नोक्सानी हुने गरेको भन्दै मन्त्री दाहालले सिमा क्षेत्र देखिनै यसको नियन्त्रण गरिने बताउनु भयो  चन्द्रागिरी नगरपालिका ७ मा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिद्वारा निर्मित भवनको शुक्रबार उद्घाटन समारोहमा उहाँले नेपालका सडक, पुल लगायतका संरचनाहरुको संरक्षण सवैको दायित्व रहेको पनि उल्लेख गर्नुभयो । ‘हाम्रो भुबनोट तथा सडकको अवस्था अनुसार पुलहरुको निर्माण गरिएको हुन्छ’ मन्त्री दाहालले भन्नुभयो, ‘निश्चित भार क्षमताका ति संरचनामा जथाभावि अधिक भारका सवारी साधन त चलाउनु भएन नि, हाम्रा संरचनको संरक्षण गर्ने जिम्मेवारी हामी सवैको हो ।’ उहाँले यातायात क्षेत्र संग सम्बन्धित विभिन्न कानुनहरु संसोधनलाई समेत मन्त्रालयले प्राथमिकतामा राखेर काम गरि रहेको उल्लेख गर्नु भयो । कार्यक्रममा व्यावसायिहरुले राखेका माग सम्बोधनमा मन्त्रालय सकारात्मक रहेको मन्त्री दाहालले बाताउनु भयो ।

‘विकासलाई उत्पादनसँग जोडौं’
नेपाल अहिले निर्माणको चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले नेपालमा केहि भएन र हुँदैन भन्नेहरुको भ्रमलाई एशियन मापदण्डमा विस्तार भई रहेको पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग तथा मध्यपहाडी राजमार्गले चिरि रहेको समेत बताउनुभयो । यस्तै उत्तर दक्षिण करिडोरका रुपमा निर्माण भई रहेका राजमार्गहरुले नेपाललाई चीन र भारतसँगको पहुँचलाई पनि बलियो बनाई रहेको मन्त्री दाहालको भनाई छ । यस्तै हुम्लामा समेत पुल बनेसँगै नेपालका सवै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोििडएको भन्दै उहाँले अब विकासलाई उत्पादनसँग जोड्न जरुरी रहेको उल्लेख गर्नुभयो । ‘हामीले सडक तथा पुलहरु त बनायौं तर यो नै अन्तिम विकास होईन, यि संरचनाहरुको माध्यमबाट उत्पादन वृद्धी गर्न जरुरी छ’ मन्त्री दाहालले भन्नुभयो, ‘अब शहर र गाउँको दुरी टाढा रहेन, गाउँमा पनि उद्यमशिलताको विकास गर्न सहज भएको छ । त्यहाँ उत्पादित तथा प्रशोधित कृषि उपज लगायतका उत्पादनहरुलाई बजार सम्म ल्याएर उत्पादन वृद्धी तर्फ पनि हामीले ध्यान दिने बेला आएको छ ।’
यातायात क्षेत्रलाई सुरक्षित बनाउने तर्फ समेत ध्यान दिइएको मन्त्री दाहालको भनाइ थियो । समितिको सो भवन १ करोड ११ लाख रुपैयाको लागतमा निर्माण भएको अध्यक्ष कृष्णप्रसाद पन्तले जानकारी दिनु भयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु राजेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, यातायात व्यावसायि महासंघका अध्यक्ष बिजय स्वार, यातायात व्यावसायि, मजदुर नेता लगायतले बोल्नु भएको थियो । कार्यक्रममा भवन निर्माणमा योगदान गर्नेहरुलाइ सम्मान गरिएको थियो ।