समाचार

आजदेखि पोलियो खोप अभियान शुरु, १२ गते शनिवारसम्म चल्ने

काठमाण्डौ – काठमाण्डौको ढलमा पोलियोको परिवर्तित भाइरस भेटिएपछि सरकारले आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दैछ । अभियानका क्रममा काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप दिइनेछ ।

खोप स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घर–घरमा पुगेर दिइने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो । आजदेखि शुरु हुने अभियान १२ गते शनिवारसम्म चल्नेछ ।