राजनीति

सञ्चार क्षेत्र सुशासनको पक्षमा दृढ र अफवाहबिरुद्ध निर्मम बनोस, सरकारको कमी कमजोरीमाथि खवरदारी गरोस : सञ्चारमन्त्री गुरुङ

काठमाडौं, कात्तिक १४ । सरकारले सुशासनका लागि आलोचनासहित सही सूचना दिएर सघाउन नेपाली सञ्चार क्षेत्रलाई आग्रह गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयबाटै सञ्चार जगतलाई सरकार आलोचना स्वीकार गर्न तयार रहेको भन्दै यस्तो आग्रह गर्नुभएको हो । ‘यो सरकार आलोचनालाई सहज रुपमा लिएर आफैबाट कमी कमजोरी भएको रहेछ भने पनि सच्याउन तयार रहेको लोकतान्त्रिक सरकार हो । नेपाली सञ्चार क्षेत्रबाट सुशासनको पक्षमा सही सूचना र कामको सिलसिलामा सरकारबाट भएको कमी कमजोरीमाथि आलोचना होस भन्ने चाहन्छ, सही सूचनाका आधारमा तपाईहरुबाट हुने आलोचनालाई सरकारले सहर्ष स्वीकार गर्छ,’ नेपाल पत्रकार महासंघका बर्तमान र पूर्वनेतृत्वलाई साक्षी राखेर सञ्चारमन्त्री गुरुङले भन्नुभयो । उहाँले सही आलोचना र सही सूचनाले सुशासनको पक्षमा काम गर्ने तथा सरकारलाई थप काम गर्न सघाउने बताउनु भयो । ‘सूचना सही होस, सुशासनको पक्षमा दृढतापुर्वक सञ्चार जगत उभियोस, हामी सरकारमा बसेकाहरुले गलत काम गर्यौं भने आलोचना होस, मुलुकलाई सही रुपमा अगाडि बढाउने बाटो यही हो,’ मन्त्री गुरुङले भन्नुभयो । मन्त्री गुरुङले मुलुकका हरेक निकाय संघीय सरकारमाथि दोष थोपरेर आफ्नो कर्तब्य पूरा गर्नेतर्फ नलागेकै कारण अहिले सरकारी ठगीको बिकराल स्वरुप देखिएको बताउनु भयो ।

‘बिगतका सरकारहरुले सहकारीमा पारदर्शिताको पाटोलाई दृढतापुर्वक अघि बढाएको भए सहकारीमा यति धेरै बिसंगति, ठगी हुनु नै थिएन,’ मन्त्री गुरुङले भन्नुभयो, ‘त्यसेले सरकारकै तर्फबाट भन्छु कि सुशासनको पक्षमा सञ्चार क्षेत्र निर्मम हुनुपर्छ, निर्मम होस पनि । सरकार आलोचनाको अपेक्षा गर्छ तर अफवाह नहोस, सही सूचना देवस भन्ने चाहन्छ ।’ सरकार असल शासन र सुशासनप्रति दृढ रहेको भन्दै उहाँले असल शासनका लागि असल ब्यक्ति पनि चाहिने बताउनु भयो । सञ्चारमन्त्री गुरुङले आफ्नो अधिकारसँगै कर्तब्य पालनमा सवै दृढ हुनुपर्ने धारणा पनि राख्नुभयो । ‘सरकारमा रहने मात्रै होइन, प्रधानमन्त्री, मन्त्री, प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु मात्रै होइन, सवै तहका सरकार, जनप्रतिनिधि, कर्मचारीदेखि नागरिकसम्म सुशासनको पक्षमा दृढ भएमा मुलुक निर्माणको काम सहज रुपमा अघि बढने उहाँको भनाई थियो । यस्तै उहाँले सरकार सूचना प्रविधिको बिकास र सोसल मिडियाको नियमनको बिषयमा काम गरिरहेको जानकारी दिनुभयो । सोही आधारमा सञ्चार मन्त्रालयले सवै पक्षसँग परामर्श, छलफल गरी सोसल मिडियालाई मुलुक र जनताको पक्षमा प्रभावकारी रुपमा सदुपयोग गर्न सोसल मिडिया नियमन सम्बन्धी बिद्येयक मन्त्रिपरिषदमा पुगेको जानकारी दिनुभयो । ‘सोसल मिडिया नियन्त्रण गर्ने होइन, नियमन गर्नुपर्छ भन्ने मान्यताका साथ सरकारले बिद्येयकलाई अन्तिम रुप दिएर कानून निर्माणका लागि मन्त्रिपरिषदमा पुगेको छ,’ सञ्चारमन्त्री गुरुङले भन्नुभयो । सञ्चारमन्त्री गुरुङले साशकीय प्रणालीको बिषयमा नेपालमा समीक्षा जरुरी रहेको धारणा पनि राख्नुभयो।

‘सशाकीय प्रणालीमा हेरफेर मुलुकको राष्ट्रियता बलियो बनाउन, जनताले मेरो देश हो भनेर गर्व गरोस भनेर हाम्रो आवश्यकताले र हामीले रोजेर ल्याएको संघयता हो,’ सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘राष्ट्रिय एकता नक्सामा खोज्ने होइन, जनताको अनुहारमा खोज्ने हो । राष्ट्रियता भनेको खाली सिमानाको मात्रै कुरा हो र ? सिंगो जनताको भवनाको कुरा हो । त्यो सवै समेटनका लागि, सवैलाई यो राज्य मेरो हो भन्ने अनुभुति दिलाउन संघीयतामा गएको हो । तर संघीयताको नाममा ७६१ वटा सरकार बनायौं । यो मुलुकको अर्थतन्त्रले धान्न सक्छ कि सक्दैन भन्ने बिषयमा अव समिक्षा गर्नुपर्ने बेला भएको छ ।’ उहाँले नेपालको बिबिधतालाई सही रुपमा पहिचान गरेर संघीयतामा गएको भन्दै अनावश्यक संरचना र अनावश्यक संख्या कटौटी गर्नुपर्ने बताउनु भयो । यस्तै सम्बोधनको क्रममा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा र संघ संस्थहरुलाई दिने बजेट प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीको निगाहको भरमा बजेट दिने प्रचलन अन्य हुन जरुरी रहेको बताउनु भयो । महासंघकी कार्यबहाक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल पत्रकार महासंघका पूर्वसभापतिहरु डा. महेन्द्र बिष्ट, तारानाथ दाहाल, बिष्णु निष्ठुरी, धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्मा, सञ्चारिका समुहकी अध्यक्ष बिमला लुम्खेवा, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खडकाले शुभकामना दिनुभएको थियो । शुभकामनाको क्रममा कार्यबहाक अध्यक्ष अधिकारीसहित पूर्वअध्यक्षहरुले महासंघको गरिमा जोगाउन सवै लाग्नुपर्ने बताउनु भएको थियो ।

यस्तै संगठनहरुको तर्फबाट शुभकामना दिने क्रममा प्रेस चौतारीका अध्यक्ष बस्नेतले पत्रकार महासंघले चुनाव गराउन नसक्ने असक्षमताको कलंक मेटाउनु पर्ने बताउनु भयो । अध्यक्ष बस्नेतले महासंघका पदाधिकारी र कार्यसमितिमा रहेका नेताहरु पत्रकार महासंघको सदस्यता बिवाद र चुनाव गराउन नसकेको बिषयमा संगठनहरुमाथि दोष थोपर्ने काम दिउसै रात पार्ने शैलीको संज्ञा दिनुभयो । ‘यो चाड पर्वले नेपाल पत्रकार महासंघका केन्द्रीय समिति र पूर्वअध्यक्षहरूमा काँक्रो आफूले खाने, बियाँचाहि अरुको निधारमा टाँसी दिने प्रवृत्ति अन्त गर्ने शक्ति प्राप्त होस । चुनाव नगर्ने रोगको शल्यक्रिया होस,’ अध्यक्ष बस्नेतले भन्नुभयो, सदस्यता बिबादमा महासंघको कार्यसमितिले गरेको छलछाम अब लुकाएर लुकाउन सक्ने अवस्था छैन । यो सत्यलाइृ स्वीकार गरेर मंसीर २८ मा चुनाव गराएर नेतृत्व हस्तान्तरणको काममा लाग्नोस ।’