विविध

एकलब्य शिक्षा सदनमा निःशुल्क दन्त तथा आँखा शिविर सम्पन्न :

काठमाडौं – नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्यू र एकलब्य शिक्षा सदनको संयुक्त आयोजना तथा सनसिटी आई केयर सेन्टर र समाज डेन्टल अस्पतालको प्राविधिक सहयोगमा कागेश्वरी मनोहरा-७ हरहर महादेव स्थित एकलब्य शिक्षा सदनमा निःशुल्क दन्त तथा आँखा शिविर सम्पन्न भएको छ। शिविरमा स्थानीय बासिन्दा, स्कुलका विद्यार्थी तथा विभिन्न वर्गका व्यक्तिहरूले निःशुल्क आँखा तथा दन्त परीक्षण गराउने अवसर पाएका थिए । प्राविधिक टिमले दाँत र आँखासम्बन्धी परामर्श, उपचार तथा आवश्यक औषधि, दांत माझ्ने ब्रस तथा मन्जन वितरण गरेका थिए।

एकलब्य शिक्षा सदनका सह-प्रधानाध्यापक याम बहादुर कार्की ले भने, “शिक्षा मात्र नभई विद्यार्थीहरुलाई स्वास्थ्य सचेतना पनि आवश्यक छ। हाम्रो विद्यालयमा यस्तो निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न पाउँदा गर्व लागेको छ । विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने भएकाले यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर गरिनेछ।” स्कुलका सुपरभाइजर झम्क बस्नेतले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यार्थी, अभिभावक तथा स्कुल स्टाफ सबैको स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य सम्बन्धी सचेतनाको लागी यस्तो शिविर सञ्चालन गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै, आगामी दिनमा पनि नेसनल ओपन स्काउट क्र्यूसँग सहकार्य गरेर यस्ता सामाजिक कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । समाज डेन्टल अस्पातल पेप्सिकोला शाखाकी प्रमुख एलिना दाहाल र सनसिटी आई केयर सेन्टरकी प्रमुख अप्सरा आचार्यले पनि विद्यार्थीहरुलाई स्वास्थ्य सचेतना पनि आवश्यक छ, त्यसैले हामिले विद्यालयमा यस्तो निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न पाउँदा खुशी लागेको छ ।

नेपाल स्काउट,नेसनल ओपन स्काउट क्र्यूका संस्थापक एवम् नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विदुर गिरी भन्नु हुन्छ, आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा यस्तो स्वास्थ्य शिविर आयोजना गरेको हो । गिरिले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोजक संस्थाहरूले सामुदायिक सेवाका माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको उल्लेख गरे। स्वास्थ्य जाँच गराउन आएका स्थानीयले शिविरलाई प्रभावकारी र उपयोगी भएको प्रतिक्रिया दिएका छन्। आयोजक र प्राबिधिक दुवै पक्षले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

अन्तमा यो निःशुल्क दन्त तथा आँखा शिविरको समापन समारोहको क्रममा एकलब्य शिक्षा सदनका सह-प्रधानाध्यापक याम बहादुर कार्कीले आयोजक तथा प्रायोजक सबैलाई धन्यवाद ज्ञापन गर्दै मायाको चिनो प्रदान गरे। उनले विद्यालयमा यस्ता स्वास्थ्य शिविरले विद्यार्थी, अभिभावक तथा समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउने भएकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। यसरी नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्यू, एकलब्य शिक्षा सदन, सनसिटी आई केयर सेन्टर र समाज डेन्टल अस्पतालको सहकार्यमा सम्पन्न भएको यो स्वास्थ्य शिविर विद्यार्थी लगायत स्थानीय समुदायका लागि लाभदायी सिद्ध भएको आयोजकले जनाएका छन्।