काठमाडौं । चारुमती मित्र ओपन स्काउट ट्रुपरक्र्युको २८औं वार्षिक उत्सव विशेष समारोहका साथ सम्पन्न भएको छ। नेपाल सरकारका पूर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल स्काउटकी पूर्व राष्ट्रिय संयोजक पुष्पलता भट्टराईलाई विशेष सम्मान प्रदान गरिएको थियो। समारोहमा प्रमुख अतिथि निधिले नेपाल स्काउटलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्नेमा जोड दिएका थिए। उनले स्काउटको मूल भावना अनुशासन, सेवा, र नेतृत्व विकास भएकाले यसलाई कुनै पनि राजनीतिक प्रभावबाट बचाउनुपर्ने बताए। “नेपाल स्काउटले हजारौं युवालाई अनुशासन, सेवा, र नेतृत्व सिकाइरहेको छ। यो संस्था स्वतन्त्र, निष्पक्ष र सेवामूलक रहनुपर्छ। कुनै पनि दल वा समूहको नियन्त्रणमा परेमा यसको मूल उद्देश्य नै समाप्त हुन्छ,” उनले भने।
कार्यक्रममा नेपाल स्काउटका पूर्व राष्ट्रिय पदाधिकारीहरू तथा अन्य वक्ताहरूले पनि स्काउट संगठनमा देखिएको राजनीतिक प्रभावको अन्त्य गर्नुपर्नेमा विशेष जोड दिएका थिए। सहभागीहरूले स्काउटलाई कुनै पनि दल विशेषको स्वार्थका लागि प्रयोग गर्न नहुने धारणा व्यक्त गरे। नेपाल स्काउटकी पूर्व राष्ट्रिय संयोजक भट्टराईलाई लामो समयसम्म पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको थियो। उनले आफ्नो अनुभव साझा गर्दै नेपाल स्काउटले हजारौं युवालाई नेतृत्वदायी भूमिका खेल्न सक्षम बनाएको बताइन्। “स्काउटको मौलिकता जोगाउन सबै पक्षले सहयोग गर्नुपर्छ,” उनले भनिन्। कार्यक्रममा बागमती प्रदेश सांसद श्रीराम लामिछानेले स्काउटजस्तो संस्था सामाजिक विकासमा महत्वपूर्ण योगदान दिने भएकाले यसलाई स्वतन्त्र र गैरराजनीतिक बनाउनु आवश्यक रहेको बताए। “युवाहरूलाई राष्ट्रसेवा, नेतृत्व, र अनुशासन सिकाउने संस्थालाई विवादरहित बनाउनु हाम्रो दायित्व हो,” उनले भने।
नेपाल स्काउटका क्षेत्रीय तथा केन्द्रीय पदाधिकारीहरूले पनि स्काउटमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न सुधारका उपायहरू अपनाउनु पर्ने धारणा व्यक्त गरे। वार्षिक उत्सवमा विभिन्न राजनीतिक दलका नेताहरू, स्काउटका पदाधिकारीहरू, समाजसेवीहरू, शिक्षकहरू तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले चारुमती मित्र ओपन स्काउट ट्रुपरक्र्युले विगत २८ वर्षमा पुर्याएको योगदानको प्रशंसा गर्दै भविष्यमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए। स्थानीय तहका प्रतिनिधिहरूले स्काउट गतिविधिहरूलाई स्थानीय तहबाट प्रवर्द्धन गर्न आवश्यक रहेको बताए। उनीहरूले विद्यालय र समुदायस्तरमै स्काउट विस्तार गरे यसको प्रभावकारिता अझ बढ्नेमा विश्वास व्यक्त गरे।
कार्यक्रममा वक्ताहरूले चारुमती मित्र ओपन स्काउट ट्रुपरक्र्युको २८औं वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे। साथै, स्काउटको उज्ज्वल भविष्यका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे। कार्यक्रममा सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम, अनुभव आदानप्रदान तथा भविष्यका योजनासम्बन्धी छलफलसमेत भएको थियो। चारुमती मित्र ओपन स्काउट ट्रुपरक्र्युका अध्यक्ष दिपेश के।सी।ले सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपाल स्काउटको इतिहासमा महत्वपूर्ण योगदान दिँदै आएको चारुमती मित्र ओपन स्काउट ट्रुपरक्र्युको २८औं वार्षिकोत्सवले संगठनलाई थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया