Breaking

प्रहरी जवान नरेश राई बैशाख महिनाको ‘वेष्ट ट्राफिक पुलिस अफ दि मन्थ’ घोषित

काठमाडौँ । ट्राफिक प्रहरी प्रभाग गौशालामा दरबन्दी भई हाल यातायात व्यवस्था विभाग, मीनभवन काठमाडौँमा कार्यरत प्रहरी जवान नरेश याम्फु राई बैशाख महिनाको ‘वेष्ट ट्राफिक पुलिस अफ दि मन्थ’ घोषणा गरी सम्मानित भएका छन्। उक्त पुरस्कार उनलाई विभागीय नीति, निर्देशन तथा आदेशको कडाइका साथ पालना गर्दै विभिन्न कार्यक्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको आधारमा प्रदान गरिएको हो।

प्रहरी जवान राईले मीनभवनस्थित यातायात व्यवस्था विभागमा सेवाग्राहीलाई सहज सेवा दिन विशेष पहल गरेका थिए। विभागमा हुने बिचौलियाको गतिविधि न्यूनिकरणमा भूमिका खेलेका उनले विभाग र ट्राफिक प्रहरीबिचको समन्वयलाई प्रभावकारी बनाएका छन्। साथै, सवारी चालक अनुमतिपत्र सम्बन्धी अनुसन्धान कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै, नक्कली लाइसेन्स पहिचान गर्न ढड्डा हेरेर तुरुन्त आवश्यक कारवाही अघि बढाएका थिए। यस्तै, हिट एड रन घटनामा संलग्न सवारी चालकको खोजतलासमा पनि उनले सघाउ पु(याएका छन्। रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था विभागबीचको अन्तरसंस्था समन्वयलाई सुदृढ गर्दै उनले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाएका थिए।