काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) को २४औं राष्ट्रिय महाधिवेशन यहि जेष्ठ २५ गतेबाट बाट काठमाडौंमा सुरु भएको छ। नेतृत्व परिवर्तनको मोडमा उभिएको संगठनले नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गरिरहेको बेला सचिव पदका लागि नेतृ रेखा न्यौपानेले उम्मेदवारी घोषणा गरेकी छन्। न्यौपानेले सामाजिक सञ्जालमार्फत सचिव पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेकी हुन्। उनी सचिव पदको सशक्त र प्रतिस्पर्धात्मक दाबेदार मानिएकी छन्। लामो समयदेखि निरन्तर संगठनमा क्रियाशील न्यौपानेले स्कुल तहदेखि केन्द्रीय तहसम्मको गहिरो अनुभव संगालेकी छन्।
रेखा न्यौपानेले २०६८ सालमा मात्र १५ वर्षको उमेरमा सङ्खुवासभा–काठमाडौ विद्यार्थी सम्पर्क समितिको सहसचिव भएर विद्यार्थी राजनीति सुरु गरेकी थिइन्। त्यसयता उनी निरन्तर संगठित सदस्यको रूपमा राजनीतिक रूपमा सक्रिय रहँदै आएकी छन्। २०७१ सालमा १८ वर्षको उमेरमा किशोर विक्रम मल्ल अध्यक्ष रहेका बेला उनी त्रिभुवन विश्वविद्यालयअन्तर्गत निजी तथा सामुदायिक राष्ट्रिय कमिटी सदस्य बनिन्। २०७२ सालमा १९ वर्षको उमेरमै २२औं राष्ट्रिय महाधिवेशनकी प्रतिनिधिका रूपमा सहभागी भइन् र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिँदै उपविजेता बनिन्।
२०७९ सालमा कोशी प्रदेश कमिटी सदस्य बनेकी उनी सोही वर्ष कोशी प्रदेशको तर्फबाट २३औं महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी भइन् र सो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य बन्न सफल भइन्। हाल उनी अनेरास्ववियुको कार्यालय विभाग उपप्रमुखको जिम्मेवारी सम्हालिरहेकी छन्। रेखा न्यौपानेको राजनीतिक यात्रा मात्र होइन, उनको पारिवारिक पृष्ठभूमि पनि राजनीतिमा गहिरो छ। उनका पिता सङ्खुवासभा जिल्लाका नेकपा एमालेका संस्थापक सदस्य हुन्। उनी जिल्लाकै पहिलो पार्टी सदस्य, कोशी प्रदेशका पूर्व माननीय तथा मन्त्री, नेकपा एमालेका संस्थापक प्रदेश अध्यक्ष तथा हाल पार्टी केन्द्रीय सदस्यसमेत हुन्। राजनीतिक चेतना र संगठनप्रतिको प्रतिबद्धता उनीभित्र बाल्यकालदेखि नै विकसित भएको देखिन्छ। यस्तो अनुभव, नेतृत्व क्षमता र सांगठनिक योगदानका आधारमा सचिव पदका लागि रेखा न्यौपाने बलियो उम्मेदवारका रूपमा प्रस्तुत भएकी छन्।
प्रतिक्रिया