राजनीति

जनतामा छरिएका भ्रम चिर्न अखिललाई मन्त्री दाहालको आग्रह

३ जेठ, २०८२
अनेरास्ववियूलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागरिकमा छरिएका विभिन्न भ्रमहरु चिर्न आग्रह गर्नु भएको छ ।
देशमा केहि भएन र हुँदैन भन्ने ढंगबाट नागरिकमा भ्रम छर्ने काम भई रहेको भन्दै त्यस्ता तत्वलाई परास्त गर्न जरुरी रहेको समेत उहाँले बताउनु भएको छ । मन्त्री दाहालसँग भेटका लागि आएको अखिलको नेतृत्वलाई मन्त्री दाहालले सो आग्रह गर्नु भएको हो । हालै सम्पन्न अनेरास्ववियूको २४ औ महाधिवेशनमा झापाबाट निर्वाचित केन्द्रिय सदस्य तथा पदाधिकारीहरुको टोलीले मन्त्री दाहालसँग भेट गरेको हो ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य समेत रहनु भएका मन्त्री दाहालले नेपालको शैक्षिक आन्दोलनमा अग्रणी भुमिका निर्वाह गरेको संगठनले गुणस्तरीय, जीवन उपयोगी र व्यवहारीक शिक्षाका लागि पनि नेतृत्व लिने विश्वास व्यक्त गर्नु भयो ।
अखिलको महाधिवेशनबाट नीति, योजना तथा अनुसन्धान आयोगको अध्यक्षमा निर्वाचित प्रकाश विष्ट सहित केन्द्रिय सदस्य एवम् सचिवालय सदस्यमा निर्वाचितहरुले मन्त्री दाहालसँग भेट गरेका हुन् । भेटका क्रममा नेकपा एमाले झापा काठमाडौ सम्पर्क मञ्चका उपाध्यक्ष मनोद दाहाल, अखिलका पूर्व सचिव मनोज ताम्ली लगायतले नवनिर्वाचित नेतृत्वलाई वधाई तथा शुभकामना दिएका थिए ।