सूचनाका लागि अहिले पनि रेडियोलाई प्रभावकारी सञ्चारमाध्यमका रूपमा लिने गरिन्छ ।
आधुनिक प्रविधिको बढ्दो प्रयोगसँगै सहरबजारमा रेडियोको प्रयोग कम हुने गरे पनि ग्रामीण बस्तीका घरआँगनमा अहिले पनि रेडियो बज्दै गरेको अवस्थामा देखिन्छ ।
दूरदराजका ग्रामीण बस्तीहरूमा अहिले पनि अनलाइनको सुविधा, दैनिक पत्रपत्रिका पुग्ने अवस्था, सबैका घरमा बिजुलीको पहुँच पुगेर टेलिभिजन राख्ने अवस्था कायम भइसकेको छैन । त्यसैले रेडियो सेवालाई आगामी दिनमा अझ प्रभावकारी सञ्चारमाध्यमका रूपमा विकास गर्न जरुरी देखिन्छ ।
यसै सन्दर्भमा १३ फेब्रुअरीलाई विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरूले ‘विश्व रेडियो दिवस’ मनाउने प्रचलन छ ।
जनजनमा प्रभावकारी सूचना प्रवाहमा महत्वपूर्ण योगदान रेडियोले बोकेको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको पाइन्छ । इन्टरनेट हरेका नेपालीका लागि अझै सहज माध्यम बन्न सकिरहेको छैन । पत्रिका, टेलिभिजनको पहुँच पनि आमनेपालीमाझ विस्तार भइनसकेको र भए पनि महँगो पर्न जाने भएकाले नेपालको भौगोलक अवस्था र दुर्गम क्षेत्रलाई मूल्यांकन गर्दा पनि सञ्चार क्षेत्रको उपयुक्त माध्यम रेडियो नै बन्न सक्छ ।
नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएपछि प्रजातन्त्र रेडियोका नाममा रेडियो खुलेको थियो । सोही रेडियोलाई पछि रेडियो नेपालका नाममा परिवर्तन गरेर सिंहदरबारबाट सञ्चालनमा ल्याएको इतिहास पाइन्छ । नेपालको परिवर्तनलाई हेर्दा २०४६ सालपछि भने रेडियोहरूको संख्यामा समेत वृद्धि हुँदै गएको छ । तर, कतिपय रेडियोहरू खुलेको केही समय सञ्चालनमा आएर बन्द नै गर्नुपरेको अवस्था पनि देखिएको छ ।
रेडियोलाई आमसञ्चारको प्रभावकारी माध्यम बनाउन बन्द भएका र बन्द हुने स्थितिमा पुगेका रेडियो स्टेसनहरूलाई जगाउन जरुरी देखिन्छ । यसतर्फ स्थानीय, प्रदेश र संघीय सरकारले पनि ध्यान दिन आवश्यक छ । बढ्दो प्रविधिसँगै सञ्चार क्षेत्रमा अन्य धेरै विकल्पहरू थपिएका छन् ।
तर, रेडियोको महत्व र योगदान अझै पनि सान्दर्भिक देखिन्छ । चेतनाको विकास, राजनीतिक परिवर्तन, विकास निर्माण, शिक्षा, स्वास्थ्यसँगै भूकम्पजस्ता विपदको समयमा पनि नेपालका रेडियो स्टेसन र रेडियोकर्मीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दे आइरहेका छन् ।
नेपालमा रेडियोहरूको कुरा गर्दा हाल ७४० भन्दा धेरै संख्यामा रेडियोहरू सञ्चालनमा छन् । निजी क्षेत्रमा खुलेका सञ्चारमाध्यमहरू अहिले बढी सञ्चालनमा छन् भने सरकारी माध्यमका रूपमा सेवा दिँदै आएको रेडियो नेपालले पनि धेरै स्टेसनहरू एफएम ब्यान्डबाट सञ्चालन गरिरहेको छ । एकातिर रेडियोको माग बढिरहेको छ भने अर्कातिर भएका रेडियोहरू आर्थिक संकटका कारण कतिपय बन्द भइसकेका छन् भने कति बन्द हुने अवस्थामा छन् ।
कोभिड–१९ का कारण अर्थ जगतमा आएको समस्याको सबैभन्दा बढी प्रभाव रेडियोहरूमा परेको देखिन्छ । सोपश्चात् रेडियोलाई पहिलाकै अवस्थाका टिकाउनका लागि के गर्न सकिन्छ भन्ने चिन्तामा रेडियो सञ्चालक र रेडियोकर्मीहरू छन् । एकातिर आर्थिक संकटका कारण रेडियोहरू जोखिममा छन् भने अर्कातिर राजनीतिक आस्थाका कारण पनि रेडियोहरू धाराशायी बन्दै गएका छन् ।
साना जिल्लामा समेत राजनीतिक प्रभावका कारण आ–आफ्नो रेडियो स्टेसन सञ्चालन गरिएका कारण पनि अहिले समस्या बढ्दै गएको छ । सञ्चार क्षेत्रमा क्रियाशीलहरूले मिलेर एउटा मात्र रेडियो चलाउन नसक्दा आर्थिक संकट बढेको देखिन्छ । उद्योग कलकारखाना नभएका कतिपय जिल्लामा सूचना प्रवाहका लागि सन्देशहरू समेत नआउने गरेका कारण पारिश्रमिक दिनसमेत समस्या हुने गरेको गुनासो रेडियो सञ्चालकहरूको छ ।
यस्तो अवस्थामा भएका रेडियोहरूलाई टिकाइराख्न लागि राजनीतिक परिवर्तनसँगै सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको रेडियोको योगदानलाई स्थानीय तह, प्रदेश र संघीय सरकारले बेवास्ता होइन, मद्दत गर्न आवश्यक छ । यसका लागि सरकारी संयन्त्रले केही नीति ल्याउन जरुरी देखिन्छ ।
प्रतिक्रिया