लमजुङ ।
सुन्दरबजार नगरपालिका-७ पाउँदीमा एक सय आठ फिट उचाइको सिद्धेश्वर महादेवको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
कर्मदा नदीको शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि महादेवको मूर्ति निर्माण गरिरहेको हो। संरक्षण समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलका अनुसार यस मूर्तिको रङरोगन गर्ने कार्य मात्र बाँकी रहेको र अब डेढ महिनाभित्रमा सकिने छ।
काठमाडौं र पोखराबाट कालिगढ ल्याएर निर्माण गरिरहेको तथा बालुवा र सिमेन्टले मात्र मूर्ति निर्माण गरिएको उनको भनाइ छ। मूर्तिका साथै महादेवको बाहन साढे पनि निर्माण गरिएको छ। मूर्ति बनाउनका लागि मात्र हालसम्म करिब डेढ करोड रूपैयाँ खर्च भइसकेको समितिले जनाएको छ। समितिका अनुसार यसको अलवा सोही परिसरमा एक सय आठ शिवलिंग र एक सय आठ धारा निर्माण गर्न लागिएको छ।
यतिबेला जमिन सम्याउने र धारा निर्माणका लागि पर्खाल लगाउने कार्य भइरहेको छ। हालसम्म यी पूर्वाधारका लागि दुई लाख रूपैयाँ खर्च भइसकेको समितिका उपाध्यक्ष पोखरेलले बताए। यस समितिको नाममा रहेको ११ रोपनी जग्गामा उक्त पूर्वाधार निर्माण भइरहेको छ।
समितिको जग्गामा दुई सय २० केभी प्रसारण लाइन विद्युतको तारमुनि पर्ने र १३ आना जमिनमा टावरसमेत राखेपछि साढे दुई वर्षअघि तारमुनि जमिन परेबापत विद्युत् प्राधिकरणबाट ७३ लाख रूपैयाँ र टावर राखेबापत ७२ लाख रूपैयाँ प्राप्त गरेको थियो। उक्त रकम प्राप्त भएपछि महादेवको मूर्ति, धारा र शिवलिंग बनाउने योजना बनाएर विसं २०७८ बैशाखबाट महादेवको मूर्ति बनाउन थालिएको हो।
हाल धारा र शिवलिंग बनाउने कार्यसमेत अघि बढिरहेको समितिले जनाएको छ। समितिका अनुसार ७३ लाख रूपैयाँ बेँसीसहरमा एक बैंकमा १० वर्षका लागि मुद्धति खातामा राखिएको र सोबाट तीन-तीन महिनामा एक लाख ५० हजार रूपैयाँ ब्याज आउने गरेको छ।
उक्त ब्याजबाट आएको रकम र टावर राखेबापतको ६३ लाखबाट थालनी गरिएको उक्त कार्यका लागि सुन्दरबजार नगरपालिकाको गत वर्ष र यस वर्ष गरी ३० लाख, खानेपानी तथा सरसफाइ एकाइ कार्यालयबाट धाराका लागि यस वर्ष १० लाख, सामाजिक विकास कार्यालयबाट १० लाख, पूर्वाधार विकास कार्यालयबाट २० लाख, राइनास नगरपालिकाबाट एक लाख ५० हजार समितिलाई सहयोग प्राप्त भएको समितिका उपाध्यक्ष पोखरेलले जानकारी दिए।
त्यस्तै महादेवको मूर्ति स्थापनाका लागि चन्दा संकलन भइरहेको र अघिल्लो वर्षदेखि हालसम्म १४ लाख उठेको तथा धारा र शिवलिंग बनाउनका लागि ११ हजार एक सय ११ लिएर आजीवन सदस्य बनाउने अभियान चलिरहेको समितिले जनाएको छ।
यस अभियानबाट हालसम्म चार लाख रूपैयाँभन्दा बढी रकम उठेको र आजीवन सदस्य बन्ने व्यक्ति थपिँदै गएको समितिका उपाध्यक्ष पोखरेलले बताए। हिन्दू धर्म मान्ने मान्छे घट्दै गइरहेका बेलामा त्यसलाई रोक्न, हिन्दू धर्मको जगेर्ना गर्न यस्ता पूर्वाधार निर्माणले सहयोग पुग्ने अपेक्षाले निर्माण गरिएको उनको भनाइ छ।
मर्स्याङ्दी नदीमा स्नान गर्न, सत्बिज छर्न, ठूलो एकादशी पर्वमा लाखौँ भक्तजन विभिन्न स्थानबाट यस क्षेत्रमा आउने गरेका छन्। तीर्थस्थल बन्दै गएको मर्स्याङ्दी नदीमा यस्ता संरचना निर्माण भएपछि भक्तजन तथा तीर्थालु अन्यत्र जानु नपर्ने तथा टाढा-टाढाबाट समेत भक्तजन यहाँ आउने समितिले जनाएको छ। डुम्रे बेँसीसहर सडक नजिकै तथा लमजुङ र तनहुँको सिमाना पर्ने यस पाउँदीमा धार्मिक पूर्वाधार निर्माणले यहाँको व्यापार व्यवसायमा समेत टेवा पुग्ने स्थानीयको भनाइ छ। सो क्षेत्र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको छ।
महादेवको मूर्ति तथा धारा र शिवलिंग निर्माणले धार्मिकरूपमा मात्र नभई पर्यटकीय गन्तव्यसमेत बन्ने सुन्दरबजारका नगरप्रमुख कृष्णप्रसाद कोइरालाले बताए। त्यस्तै पाउँदी बजारको लोकप्रियतासमेत बढ्ने र धार्मिक तीर्थालु तथा पर्यटक आउँदा आम्दानी पनि हुने उनको भनाइ छ। जिल्लाकै एक प्रमुख धार्मिक एवं पर्यटकीय क्षेत्र बन्ने नगरप्रमुख कोइरालाले बताए।
प्रतिक्रिया