Breaking

२२ वर्षदेखि हराएका छोरा खोज्दै ८५ वर्षीया आमा

महोत्तरी ।

रामबाबु कार्की बिहानै उठेर आमाबुबालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो । पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो ।

आमा दुर्गाकुमारी कार्कीलाई २०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउँदै समाचार सुनिरहेको अझै ताजा छ ।

युद्धकालीन उक्त समयमा दुर्गाकुमारीले परैबाट रेडियोमा आर्मी र माओवादीबीच भिडन्त भएको र मानिसहरू मरिरहेको सुनिन् । समाचार सकिसकेपछि रामबाबु नजिकै आएर भने, ‘आमा, म ठुलो दाजुलाई भेट्न लमजुङ जान्छु ।’

रामबाबु केही दिनअघि मात्र काठमाडाैँबाट क्याम्पस बिदाको मौका पारेर घर आएका थिए । त्यतिबेला गाउँमा युवाहरू कोही पनि थिएनन् । भएका युवाहरू कोही विदेश पलायन भएका थिए भने कतिपयलाई माओवादीले सशस्त्र युद्धमा सहभागी बनाउन जंगल लगेको थियो । थोरै युवाले मात्र आर्मी, प्रहरीमा जागिर खाएका थिए । त्यही पनि रामबाबुले जेठो दाजुलाई भेट्न बेँसीसहर जान जिद्दी गर्न थाले ।

त्यति टाढा उक्त भयावह अवस्थामा २२ वर्षीय कान्छो छोरा रामबाबुलाई पठाउन आमाको मन पटक्कै मानेको  थिएन । तर छोराको जिद्दीको अगाडि दुर्गाकुमारीको केही लागेन ।

आकाश अन्धकार भएर पानी झर्न मात्र बाँकी थियो, प्रतिकूल वातावरणका बाबजुद पनि दाजु गोविन्द कार्कीलाई भेट्न आमाबुबासँग बिदा भएर छुटेका छोरा एकाएक हराए । भाइ भेट्न आएको समाचार थाहा पाएपछि प्रतीक्षामा रहेका दाजुले भाइलाई न त भेट्न पाए, न त घर फर्किएर नै गए ।

दाजुलाई भेट्न लमजुङको बेँसीसहर गएका भाइ रामबाबु २२ वर्षदेखि घर फर्किएका छैनन् । उनी कहाँ छन् ? कसरी हराए ? मरे कि जिउँदै होलान् ? परिवारलाई चासो र चिन्ता त्यतिकै छ ।

८४ वर्षीया आमा छोरा अझै घर आउने आशा बोकेर बाँचिरहेकी छिन् । ‘बुढेसकाल भयो, आज मर्छु कि भोलि मर्छु जस्तो भएको छ, कमसेकम छोराको मुख हेरेर मर्न पाए स्वर्ग पुग्थे होला,’ गहभरि आँसु बनाउदै दुर्गाकुमारीले भनिन्, ‘मरेको प्रमाणित भए बरु किरिया गर्थेँ ।’

रामबाबुका दुइ दाजु छन् । माइलो दाजु मोहन कार्की नेपाल आर्मीबाट रिटायर्ड हुन् भने जेठा दाजु गोविन्द विद्युत् प्राधिकरणबाट रिटायर्ड हुन् ।

दाजुहरूको जागिरकै कारणले रामबाबुलाई पढाइ लेखाइमा त्यति समस्या पनि थिएन । काठमाडाैँको एक क्याम्पसमा डिप्लोमा अध्ययन गर्दै गरेका रामबाबुको विषयमा परिवारले नराम्रो कहिल्यै सुनेन ।

दुर्गाकुमारीले बेपत्ता छोराको खोजी गरिदिन धेरै सरकारी संयन्त्रहरूलाई हारगुहार पनि नगरेकी हाेइनन् । तर कहीँ कतैबाट सुनुवाइ नभएपछि छोरा फर्कने आस झिनो बन्दै गएको छ ।

‘आजकल मोबाइल हेर्दा धमाधम मान्छे भेटिएको समाचार देखिन्छ । त्यही भएर मिडियामा आएँ,’ दुर्गाकुमारीले भनिन्, ‘अब अन्तिम आशा तपाईँहरू नै हो ।’

कतिपय आफन्तले रामबाबुलाई आर्मी वा माओवादीले बाटैमा मारिसक्यो भनेर पनि सुनाउँछन्, तर दुर्गाकुमारीलाई भने अहिले पनि छोरा कतै ज्युँदै छ भन्ने लाग्छ ।

रामबाबुका बुबा डम्बरबहादुर कार्कीलाई पनि श्रीमतीले भनेजस्तै छोरा ज्युँदै छ भन्ने लाग्छ । ‘कमसेकम यो समाचार हेरिसकेपछि कान्छो हामीलाई सम्झेर आओस्,’ उनले भने ।

लमजुङमा सरकारी र विद्रोही पक्षबीच बेला-बेलामा झडप भइरहन्थ्यो । जिल्लाका कतिपय ठाउँमा त त्यतिबेला कैयौँ मानिस मरेको समाचार पनि सुनिन्थ्यो । त्यसैले धेरै जनाले उक्त संक्रमणकालीन अवस्थामा लमजुङ जाँदा दोहोरो भिडन्तको क्रममा कतै मर्‍यो कि भन्ने पनि आशंका गर्छन् ।

परिवारलाई भने पत्यार नै लाग्दैन । ‘मेरो हृदयले भन्छ- छोरा घर फर्केर आउँछ,’ दुर्गाकुमारीले भनिन्, ‘अब भरोसा बाबुहरूकै छ, समाचार हेरेर भए पनि छोरा घर फर्कनेछ ।’

दुर्गाकुमारी आजकल पहिलाजसरी हिँडडुल पनि गर्न सक्दिनन् । उनलाई मात्र हाेइन, उनका श्रीमान् डम्बरबहादुरलाई पनि लौराको सहारा चाहिन्छ ।

भाइ हराएपछि दाजु गोविन्दले पनि धेरै खोजी नगरेका हाेइनन् । संक्रमणकालीन अवस्थामा उनले माओवादी कमान्डरहरूसँग सम्पर्क गरेर भाइको अवस्था बुझ्न खाेजेका थिए भने आर्मी, प्रहरीका उच्च पदस्थ व्यक्तित्वसँग पनि सोधपुछ गरे । तर भाइको विषयमा कसैले यकिन विश्वास दिलाउन सकेनन् ।

बेपत्ता छोरा फर्किने आसमा नै दुर्गाकुमारीले अंशबण्डा पनि गरेकी छैनन् । ‘जेठो र माइलले अब भाग लगाउनुपर्छ भन्छन् । तर, म मानेकी छैन,’ उनले भनिन्, ‘कमसेक यकिन त हुनुपर्‍याे नि मरेको र बाँचेको !’

संक्रमणकालीन अवास्थामा बेपत्ता भएकाहरूको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश २०६९ समेत जारी भएको छ । तर उक्त समयमा बेपत्ता भएकाहरूको नाम समेत सूचीकृत गरिएको छैन । आयोगमा अहिलेसम्म रामबाबु जस्ता बेपत्ता भएका परिवारले ३२८८ उजुरी दर्ता गराएकाे आयोगले जनाएको छ ।

आयोगमा दर्ता भएका ३२८८ उजुरी मध्ये ४१४ उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार पर्ने गरी पठाइएकामा १३७ उजुरी फिर्ता आएको आयोगकाे अभिलेखमा उल्लेख छ । जसमध्ये १३६ उजुरी दोहोरो परेको हुनाले लगतकट्टा गरिएको, २९२ तामेलीमा राखिएको, ४८ उजुरी आयोगबाट निर्णय भएर स्थिति सार्वजनिक गरिएको, ७५३ उजुरी फर्स्यौट भएको र तामेलीमा राखिएकामध्ये ८ उजुरीको कारबाही प्रक्रिया अगाडि बढाइएको आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक गरिएको विवरणमा छ ।

मधेस प्रदेशबाट पनि अहिलेसम्म २१५ उजुरी परेको आयोगले जनाएको छ । जसमध्ये विस्तृत छानबिनका लागि १५३, प्रारम्भिक छानबिनका लागि ७ वटा, तामेलीमा राखिएको १२ वटा, दोहोरो परेर लगत कट्टा गरिएका ६ वटा, सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाइएको ३३ वटा छन् । जसमध्ये ४ वटा उजुरीको भने स्थिति सार्वजनिक भइसकेको छ ।

तर, सूचनाको पँहुच तथा सरोकारवालाहरुको बेवास्ताले न रामबाबु जस्ता बेपत्ता व्यक्तिहरूको खोजबिन भएको छ न त कुनै अभिलेख नै राखिएको छ । त्यसैले आमा दुर्गाकुमारी लगायत सम्पूर्ण परिवारले बेपत्ता रामबाबुको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।