विशाल बस्नेत
महोत्तरी ।
४ वर्षअघि बाराको सुवर्ण गाउँपालिका–६ धर्मपुर टोलका अवधेश यादवको ९ जनाको परिवार सामाजिक बहिष्कारको सिकार बन्नुपर्यो ।
यसको एक मात्र कारण थियो– बुबा अनुठा यादवको मृत्यु संस्कार ७ दिनमात्र गर्नु । यसको सजाय स्वरूप यादवले सामाजिक बहिष्कार मात्र भोगेनन्, गाउँबाट नै विस्थापन बन्न बाध्य भए ।
पहाडका धेरै ठाउँमा पुराना संस्कारहरूविरुद्ध विद्रोह सुरु भए पनि मधेसको देहातमा भने यसलाई अनौठो र दुस्साहसका रूपमा लिइन्छ, जसको परिणाम कठोर र निकै दर्दनाक सामाजिक सजायको भुक्तभोगी बन्नुपर्ने यादवमाथि घटेको घटनाले नै पुष्टि गर्छ ।
यस्तै अर्को घटना घटेको छ– महोत्तरीको महोत्तरी गाउँपालिकाअन्तर्गत रतिवाडामा । केही हप्ताअघि मृत्यु भएकी आफ्नी आमा शिवज्योति यादवको मृत्यु संस्कार बहिष्कार गरेपछि कान्छा छोरा शंकर राय चौथो पटक सामाजिक बहिष्कारको सिकार बनेको खुलासा भयो ।
भनिन्छ, कुनै पनि संस्कार धर्मबाट निर्देशित हुन्छन् । तर, धर्मकर्ममा निकै आस्था राख्ने मधेसको भित्री देहात रतिवाडामा रायले भोगेको बहिष्कार अहिले मधेसमा चर्चा र अचम्मको विषय बनेको छ ।
अझ अचम्मलाग्दो त कहाँनिर छ भने रायको सांस्कृतिक विद्रोह न यो पहिलो हो, न त सामाजिक बहिष्कार नै । उनले जहिलेबाट सुधारात्मक संस्कारमा जोड दिए, त्यतिबेलादेखि नै कथित सामाजिक बहिष्कारको सजाय भोगेका छन्, जसको इतिहास ४० वर्ष पुग्यो ।
धर्मकर्मकै विश्वासले विकसित भएको समाजमा रायले ४/४ पटकसम्म कसरी सामाजिक बहिष्कारको सजाय भोग्नुपर्यो त भन्ने विषय आममानिसका लागि थप कौतूहल बन्न सक्छ ।
२०३८ सालदेखि नै वामपन्थी विचारक रायले धर्मका नाममा हुने फजुल खर्च अवैज्ञानिक भएको भन्दै गाउँमा जागरणको सुरुआत गरेका थिए । यसैको परिणामस्वरूप पहिलो पटक सामाजिक बहिष्कार भोगेका रायको अविच्छिन्न र अविचलित यात्रा अहिलेसम्म जारी छ ।
आमाको मृत्यु संस्कारको बहिष्कार पनि यसैको निरन्तरता हो, जुन कार्यको सजाय राय चौथो पटक भोग्दै छन् ।
२०५४ सालमा रायको दोस्रो सांस्कृतिक विद्रोह
२०५४ सालमा रतिवाडामा नै रायकी काकीको मृत्यु भयो । त्यतिबेला पनि रायले क्रियाकर्म गर्न मानेनन् । दाजुभाइले गरे, तर उनले काकीको क्रियाकर्ममा लाग्ने खर्च गाउँकै एक विद्यालयमा लगानी गरे ।
तत्कालीन समयमा २४ हजार ९०० रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरेर २ विद्यार्थी बस्ने २ कोठा निर्माण भयो । ‘जुन अहिले काकीको सम्झनामा जीवन्त बनिरहेको छ,’ उनले भने, ‘ब्राह्मणलाई गरिने खर्च सामाजिक काममा किन नलगाउने ? भन्ने उद्देश्यले त्यतिबेला पनि मैले सांस्कृतिक विद्रोहको सुरुआत गरेको हुँ ।’
तर, यो विद्रोह रायका लागि निकै महँगो बन्यो । दाजुभाइबाट बहिष्कारको सिकार बन्नुपर्यो । उनले छोएको खाना गाउँमा चल्न छाड्यो । गाउँ प्रवेशमा निषेध गरियो । राय कति पनि विचलित भएनन् । उनलाई के विश्वास थियो भने संस्कारका नाममा हुने खर्च गलत छ ।
अनि गाउँमा बस्न सकेनन्
पारिवारिक दबाब, सामाजिक अपहेलना तथा बहिष्कारका बाबजुद पनि सांस्कृतिक विद्रोहको परिणामस्वरूप उनी रतिवाडाबाट विस्थापित बन्नुपर्यो । सामूहिक सोचविपरित जहिल्यै फरक मत राखेकै आधारमा सामाजिक रूपमा एक्लिएपछि गाउँ नै छाड्न बाध्य भएको राय बताउँछन् । तर, पारिवारिक भित्री माया भने रायले सधैँ महसुस गरिरहे ।
मृत्युअघि आमा शिवाज्योति पनि रायसँगै बसेकी थिइन् ।
जेठा दाइ देवेन्द्र राय रतिवाडामा नै बस्छन् । दाजु देवेन्द्रले भाइको स्वतन्त्रतामा कहिल्यै हस्तक्षेप गरेनन् । बरु भाइ शंकरले भतिजाहरूको ब्रतबन्ध नै नगर्ने निष्कर्षमा पुगेपछि कान्छो भतिजालाई भने भारतको वैद्यनाथ धाममा पुगेर जनै लगाइदिएका थिए ।
छोराहरूकै कारण तेस्रो पटक परिवारलाई निषेध
रायका २ छोरा छन्– प्रवेश र अभिलव । रायलाई गाउँमा निषेध गरे पनि दाजु देवेन्द्रको सामाजिक ऐक्यबद्धताका कारण परिवारलाई हेर्ने दृष्टिकोण भने अलि फरक थियो ।
एक दिन प्रवेश र अभिलव रतिवाडा गएका थिए । ‘गाउँमा एक ठाँउमा बंगुर काटिएछ,’ रायले भने, ‘छोराहरूलाई मासु खान मन लागेपछि गाउँमा नै बंगुरको मासु खाएछन् । यसैलाई लिएर मलाई समाजले हेर्ने दृष्टिकोण झन् साँघुरो बन्यो ।’
कथित जातीय व्यवस्थाका कारण खानामा समेत वर्गीकरण हुनु रायलाई मन पर्दैनथ्यो । मानिसको इच्छालाई जात व्यवस्थाकै कारण निषेध गर्नु रायका लागि असह्य नै थियो ।
बंगुरको मासु छोराले खाएपछि रायका लागि अर्को सामाजिक विद्रोह बन्यो । भड्काउने र धर्मलाई निस्तेज बनाउने आरोप खेप्दै आएका रायलाई छोराले बंगुरको मासु खाएपछि समाजलाई पुष्ट्याइँ गर्ने महत्वपूर्ण आधार बन्यो । पुनः राय असामाजिक र धर्म विरोधीका रूपमा रतिवाडामा कलंकित बन्नुपर्यो ।
४० वर्षपछि सामाजिक सजायबाट मुक्ति
धर्म र संस्कारको नाममा अफवाह फैलाएको भन्दै २०३८ सालदेखि नै सामाजिक बहिष्कारको सिकार बनेका शंकर राय २०५४ सालमा काकीको क्रियाकर्म बहिष्कार गरेपछि थप सामाजिक घेराबन्दीमा परे ।
रायका लागि समाज कठोर र निर्दयी बन्यो । तर, रायले सोही ठाउँको सामाजिक कार्यलाई सधैँ निरन्तरता दिइरहे । उनकै पहलमा भजन गर्ने मन्दिर मात्र बनेनन्, विद्यालय र केही विकासका काम समेत हुन थाले ।
जसको परिणामस्वरूप पछिल्लो पुस्ताको सहानुभूति बढ्दै गयो । संस्कारका नाममा हुने फजुल खर्च र प्रक्रिया कम गर्नुपर्छ भन्ने उद्देश्यले रायले थालेको विद्रोहलाई स्थानीय युवाहरूले भित्री रूपमा साथ दिन थाले ।
‘२०३८ सालदेखि भोग्दै आएको सामाजिक बहिष्कार २०७८ मा आएर फुकुवा भयो,’ रायले भने, ‘युवाहरूकै कारण ४० वर्षपछि मलाई गाउँका विवाह तथा धार्मिक संस्कारहरूमा सहभागी हुने बाटो खुला भयो ।’
आमाको मृत्यु संस्कारले पुनः बहिष्कार
नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले भनेका छन्, ‘धर्मले विकास गरेका संस्कृतिले वैज्ञानिकता प्राप्त गर्दै जाँदा तथा उत्पादन, संघर्ष र वैज्ञानिक खोज अनुसन्धानबाट विकसित हुने वैज्ञानिक संस्कृतिका विकासका कारण कुनै दिन धर्म विलुप्त हुनेछ ।’
शंकर रायको कतिपय क्रियाकलापले नेता गौतमले भनेजस्तै उनी धर्म विरोधी त होइनन् ? भन्ने शंका गर्ने ठाउँ दिन्छन् । तर, राय आफू धर्मको पक्षधर नै भएको दाबी गर्छन् ।
‘समाज रूपान्तरणका लागि धर्म आवश्यक छ । तर, सुधार गर्दै लैजानुपर्छ भन्ने मेरो मान्यता हो,’ राय भन्छन्, ‘म धर्मविरोधी पटक्कै होइन, तर धर्मभित्र विकसित भएका कतिपय अन्धविश्वास र संस्कार आममानिसका लागि निकै पीडादायी छन् ।’
यही चेतका कारणले रायले केही हप्ताअघि मृत्यु भएकी आमाको क्रियाकर्म नै अस्वीकार गरे । सुरुमा रायले आफ्ना दाइ देवेन्द्रलाई पनि विश्वस्त बनाएका थिए ।
तर, सामाजिक दबाबले दाइले भने रतिवाडा नै आमाको १३ दिनसम्म क्रियाकर्म गरे । धार्मिक मान्यताअनुसार दाइसँगै कोरामा बस्नुपर्ने राय जनकपुरमा नै बसे । दैनिक पण्डित बोलाएर गर्नुपर्ने कामहरूमा खर्च हुने पैसा रायले मानव आश्रममा दान गरे ।
बरु १३ दिनपछि रायले केही कम्युनिस्ट नेताहरूलाई बोलाएर शोकसभाको आयोजना गरे । यही कारणले राय पहिलेजस्तै सामाजिक बहिष्कारको सिकार भएका छन् । गाउँमा पञ्चायत गरेर दाजुभाइले कुलबाट अलग गर्ने निर्णय गरेका छन् भने अन्य गाउँलेले धर्मविरोधी गतिविधि गरेको भन्दै उनको घरमा आवतजावत नै बन्द गरेका छन् ।
शंकर रायको दृष्टिकोणमा धर्मका नाममा हामी जसरी संस्कारलाई मान्दै आएका छौँ, त्यो अन्धविश्वास हो । अन्धविश्वासलाई चिरेर धर्मलाई पनि प्रगतिशील बनाउनुपर्ने रायको तर्क छ । उनी अहिले भौतिकवादी समाज नेपालका केन्द्रीय सदस्यसमेत हुन् ।
प्रतिक्रिया